२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले म्यागङ गाउँपालिका–२ का २५ वर्षीय भीम तामाङ, १८ वर्षीय किस्मत तामाङ र १८ वर्षीय कमन तामाङलाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितहरुले साउन २९ गते म्यागङ गाउँपालिका–३ फासाङस्थित देउराली–किम्ताङ सडकखण्डमा तीन वर्षीय छोरासहित हिँडिरहेको बेलामा सडकदेखि पाँच मिटर तल खसालेर बलात्कार प्रयास गर्नुको साथै ३ वर्षीय छोरालाई ज्यानमार्ने प्रयास गरी कुटपिट गरी फरार भएका थिए ।
आरोपितहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले साउन ३० गते उजुरी दर्ता भएको थियो ।
घाइते आमा छोराको नै टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । बालकको मेरुदण्डको भागमा समेत गम्भीर चोट लागेको छ ।
पीडित महिलाको त्रिवि शिक्षण अस्पताल र बालकको स्टार अस्पताल काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।
आरोपितहरुलाई बलात्कार प्रयास तथा ज्यान मार्ने उद्योग अन्तर्गत कारबाहीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।