INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ का कारण शैक्षिक सत्र ०७८ प्रभावित हुँदा विद्यार्थी भर्ना अभियान प्रभावहीन

नेपाल सरकारले ०६१ ले वैशाख २ गतेदेखि वैशाख समान्तसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

कोभिड–१९ का कारण शैक्षिक सत्र ०७८ वैशाखमा सुरूआत हुनु पर्नेमा भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आएर शैक्षिक सत्र सुरू भएपछि सरकारले सञ्चालन गरेको विद्यार्थी भर्ना अभियान शैक्षिक सत्र ०७९ मा समेत प्रभावहीन भएको छ ।

शैक्षिक सत्र वैशाखदेखि सुरू हुनु पर्नेमा कोभिड–१९ का कारण शैक्षिक सत्र ०७८ भदौदेखि मात्र सुरूआत भएको र पुन कोभिड–१९ कै कारण ०७८ माघमा एक महिना विद्यालयमा लकडाउन गरिएपछि शैक्षिक सत्र ०७९ को विद्यार्थी भर्ना अभियान प्रभावित भएको शिक्षा विकास निर्देशनालयका प्रमुख राजेन्द्र बुढाथोकीले बताउनु भयो ।

शैक्षिक सत्र ०७८ को परीक्षा चैत १५ भित्र सम्पन्न गरी चैत समान्तसम्म नतिजा प्रकाशन गरी शैक्षिक सत्र ०७९ वैशाख २ गतेदेखि सञ्चालन हुनु पर्नेमा सो हुन नसकेका कारण प्रदेश १ मा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ ।

शैक्षिक सत्र ०७८ को वार्षिक परीक्षा ०७९ वैशाख १५ गतेपछि मात्र भएकाले शैक्षिक सत्र ०७९ को विद्यार्थी भर्ना अभियान जेठ, असार र साउन १५ गतेसम्मका लागि सञ्चालन गरिएको छ ।

नेपाल सरकारको संविधानले धारा ३१ मा शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।

शिक्षाबाट कोही पनि वञ्चित नहुन भन्ने उद्देश्यले सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियान कोभिड–१९ का कारण प्रभावित हुँदा शैक्षिक सत्र ०७९ मा प्रदेश १ मा कति बालबालिका शिक्षाको पहुँचमा आए भन्ने यनिक विवरण नभएको शिक्षा विकास निर्देशनालयका प्रमुख राजेन्द्र बुढाथोकीले बताउनु भयो ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार नेपाल सरकारले शैक्षिक सत्र ०७९ को लागि सञ्चालन गरेको विद्यार्थी भर्ना अभियान साउन १५ गते सम्पन्न भयो । भर्ना अभियानमा जिल्लामा २५ हजार ९ सय ५२ जना विद्यार्थी शिक्षा मन्त्रालयको सफ्टवेयरमा अद्यावधिक भएका छन् । जसमा १३ हजार १७ जना छात्रा र १२ हजार ९ सय ३५ जना छात्र रहेका छन् । जसमा जनजाति ८ हजार ९ सय ६२ जना छात्रा र ८ हजार ९ सय ९१ जना छात्र गरी १७ हजार ७ सय ५३ जना छन् । १ हजार २ सय ७६ जना दलित छात्रा र १ हजार २ सय १ जना दलित छात्र गरी २ हजार ४ सय ७७ जना बालबालिका भर्ना अभियानमार्फत विद्यालय आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोहन राईले बताउनु भयो । भर्ना भएकामध्ये ब्राह्मण क्षेत्री समुदायका २ हजार ७ सय ७ जना छात्रा र २ हजार ८ सय ५४ जना छात्र गरी ५ हजार ५ सय ६१ जना र अन्यमा ७२ जना छात्रा र ८९ जना छात्र गरी १ सय ६१ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लामा १ सय ९० ओटा आधारभूत र ९४ ओटा माध्यमिक विद्यालय छन् । जिल्लामा गत वर्ष ३३ हजार २ सय ८६ जना विद्यार्थी भर्ना भएकोमा यो वर्ष २५ हजार ९ सय ५२ जना मात्रै विद्यालय भर्ना भएका छन् । धनकुटामा हरेक वर्ष ३५ हजार हाराहारीमा बालबालिका विद्यालय भर्ना हुने गरेको र यो वर्ष पनि सोही आधारमा विद्यार्थी भर्ना भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोहन राईको भनाइ छ । जिल्लाका ३५ ओटा विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अद्यावधिक नगरेका कारण यकिन सङ्ख्या नआएको शिक्षा विकासले जनाएको छ । शिक्षा मन्त्रालयको सफ्ट्वेयरबाट अद्यावधिक गर्नुपर्नेमा साउन १५ गतेबाट सफ्ट्वेयर बन्द भएको छ । शिक्षा मन्त्रालयले बनाएको सफ्ट्वेयर साउन १५ गतेबाट आफैँ बन्द हुने गरेको छ । विद्यार्थी भर्ना अभियानको विवरण अद्यावधिक नगर्नेमा धनकुटा नगरपालिकाका २० ओटा, साँगुरीगढी गाउँपालिका र सहीदभूमि गाउँपालिकाका सात- सात ओटा र महालक्ष्मी नगरपालिकाको एक ओटा विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोहन राईले बताउनु भएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार शैक्षिक सत्र ०७९ का लागि जिल्लामा ३५ हजार १ सय ९१ जना बालबालिका विद्यालय भर्ना भएका छन् । जसमा १७ हजार ४ सय ५८ जना छात्रा र १७ हजार ७ सय ३३ जना छात्र छन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख केशव भट्टराईले जेठ, असार र साउन १५ गतेसम्मको अवधिमा जिल्लामा यस वर्ष २४ हजार ८ सय ९८ जना जनजाति समुदायका बालबालिका, ३ हजार ६ सय २१ दलित समुदायका बालबालिका, ६ हजार ४ सय १० जना बाहृमण क्षेत्री समुदायका र अन्य २ सय ६२ जना बालबालिका भर्ना भएको बताउनु भयो । जिल्लामा ४ सय १२ ओटा सामुदायिक विद्यालय छन् । १ हजार ६ सय ४० जना शिक्षकको दरवन्दी रहेको समन्वय इकाइले जनाएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार शैक्षिक सत्र ०७९ का लागि जिल्लामा १ हजार २ सय ६४ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । जस मध्ये ६ सय ३२ जना छात्रा र ६ सय ३२ छात्र छन् । जिल्लामा ३ सय ओटा आधारभूत र ८४ ओटा माध्यमिक विद्यालय छन् । जिल्लामा १ हजार ३ सय ८३ स्वीकृत दरबन्दी, ४ सय ७४ राहत दरबन्दी, र उच्च माध्यमिकमा २३ स्वीकृत दरबन्दी र ४५ अनुदान दरबन्दीसहित जम्मा १ हजार ९ सय २९ शिक्षक दरबन्दी रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युगमणि सबेहाङले बताउनु भयो । जिल्लामा १५ ओटा अपाङ्गमैत्री विद्यालय छन् । वैदेशिक रोजगारमा गएका परिवारका २१ जना छात्रा र २३ छात्र गरी जम्मा ४४ जना बालबालिकाले यस वर्ष छात्रवृत्ति पाएका छन् ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार ०७९ जेठ, असार र साउन १५ गतेसम्म चलाइएको विद्यार्थी भर्ना अभियानमा जिल्लामा ५५ हजार ९ सय ७० जना बालबालिका विद्यालय भर्ना भएका छन् । २८ हजार ४ सय ७५ जना छात्र र २७ हजार ४ सय ९५ जना छात्रा विद्यालय भर्ना भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख शम्भुनाथ थापामगरले बताउनु भयो । विद्यार्थी भर्ना अभियानमार्फत यस वर्ष अपाङ्गता भएका १ सय १३ जना बालिका र १ सय २९ जना बालक विद्यालय भर्ना भएका छन् । भर्ना अभियानमा जिल्लाभर १ हजार ७ सय ८४ जना दलित छात्र र १ हजार ८ सय २६ जना दलित छात्रा भर्ना भएको शिक्षा समन्वय इकाइले जनाएको छ । असार समान्तसम्म द्घन्द्घपीडित परिवारका नौ जना बालक र चार जना बालिका गरी १३ जना बालबालिकाकाले छात्रवृत्ति पाएका छन् । जिल्लामा २ सय ९४ ओटा आधारभूत विद्यालय र ९४ ओटा माध्यमिक विद्यालय छन् ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार सरकारले जेठ, असार र साउन १५ गतेसम्म चलाएको विद्यार्थी भर्ना अभियानमा जिल्लामा २१ हजार ८ सय ७५ जना विद्यार्थी यस वर्ष भर्ना भएका छन्् । १० हजार ७ सय ३६ जना छात्र र ११ हजार १ सय ९ जना छात्रा विद्यालयमा भर्ना भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भीम मिश्रले बताउनु भयो । यस वर्ष भर्ना अभियानमार्फत ७२ जना बालिका र ७३ जना बालक गरी १ सय ४५ जना अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना भएका छन् । १ हजार २ सय ५१ जना दलित छात्र र १ हजार २ सय ८२ जना दलित छात्रा गरी २ हजार ५ सय ३३ जना दलित बालबालिका विद्यालय भर्ना भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।  जिल्लामा १ सय ७८ ओटा आधारभूत विद्यालय र ४६ ओटा माध्यमिक विद्यालय छन् । जिल्लामा अपाङ्गतामैत्री विद्यालय २४ ओटा छन् ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार शैक्षिक सत्र ०७९ का लागि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानमार्फत जिल्लामा यस वर्ष ३३ हजार ९३ जना विद्यार्थी भर्ना भएका छन् । १६ हजार ३ सय ९५ जना छात्र र १६ हजार ९ सय ९८ जना छात्रा अभियानमार्फत विद्यालय भर्ना भएका छन् । जसमा अपाङ्गता भएका ५६ जना बालिका र ५१ जना बालक भर्ना भएका छन् । यस वर्ष जिल्लाभर ४ हजार ५ सय २७ जना दलित बालबालिका विद्यालय भर्ना भएका छन् । दलित विद्यार्थी मध्ये २ हजार ३ सय ४६ जना छात्रा र २ हजार १ सय ८१ छात्र रहेको  शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनु भयो । जिल्लामा  २ सय ५७ ओटा आधारभूत र ७४ ओटा माध्यमिक विद्यालय छन् । १ हजार ५ सय ७४ जना शिक्षक दरबन्दी रहेकामा सबै दरबन्दीमा शिक्षक कार्यरत रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

अन्य

भिडियो