जिल्ला सदरमुकाम मान्ममा एक महिना अघिदेखि खानेपानीको अभाव भएको छ । खानेपानीको मुहानमा समस्या आएका कारण अभाव भएको हो ।
एक महिना अगाडीबाट पहिरोका कारण खानेपानीको पाइपमा क्षति पुगेपनि सरोकारवालाको ध्यान नजादा खानेपानीको अभाव भइ टाढाबाट बोकेर खानेपानीको जोहो गर्नु परेको नमुना होटलका सञ्चालक सिता देवकोटले गुनासो गर्नु भएको छ ।
‘सदरमुकाममा नै खानेपानीको चरम अभाव देखिएको छ ।’–उहाँले भन्नु भयो–‘खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयको लापरवाहीका कारण हामीले खानेपानी पाएनौँ ।’
खानेपानी उपभोक्ता समितिले केवल पैसा मात्र उठाउने गरेको र पानीको व्यवस्थापन तथा मर्मत समयमा नगरेका कारण यहाँका नागरिक खानेपानीबाट बन्चित हुनु परेको छ ।
खानेपानीको समस्या भएपछि सरकारी कार्यालयका कर्मचारी दुई किलोमिटर टाढा रहेको खरिखोलाबाट गाडीमा बोकेर पानीको प्रयोग गरिरहेका छन् भने सर्वसाधारण सोही ठाउँबाट बोकेर ल्याउने गरिरहेका छन् ।
एक महिनासम्म पानीको समस्या हुँदासम्म सरोकारवालाले चासो नदेखाएकोमा खाँडाचक्र नपा–१ निवासी मञ्जु नेपालीले आक्रोश व्यक्त गर्नु हुन्छ ।
खानेपानी समस्याका विषयमा खानेपानी कार्यालय र उपभोक्ता समितिलाई वडा कार्यालयले पत्र पठाएर खानेपानीको समस्या हल गर्न पटक पटक अनुरोध गरेपनि समस्या यथावत रहेको खाडाचक्र नपा–१ का अध्यक्ष धर्मराज ताम्राकारले बताउनु भयो ।
खानेपानीको समस्या हल गर्न सम्बन्धित निकायलाई पत्र पठाएको र पत्रकारसहितको टोली साउन २२ गते पहिरो गएको स्थानसम्म पुगेर फर्केका कारण खानेपानीको समस्या चाँडै हल हुने विश्वास वडाध्यक्ष ताम्राकारले दिलाउनु भएको छ ।
सदरमुकामको खानेपानीका लागि संघीय सरकारको करोडौँको योजना भएपनि समस्या यथावत हुनु दुखद रहेको खानेपानी उर्जा तथा सिचाई विकास कार्यालय, कालिकोटका प्रमुख मङ्गल शाहीले बताउनु भयो ।
नेपालको संविधानको मौलिक हकको धारा ३५ को उपधारा ४ अनुसार प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी र सरसफाईको हक हुने छ भनि उल्लेख गरिएको भएपनि यहाँका नागरिक खानेपानीबाट वञ्चित हुनु परिरहेको छ ।
