१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन २१ गते दिउँसो जङ्गलमा अलपत्र छोडेर हिँड्दा मृत्यु भएपछि प्रहरीले दिपकलाई गिरफ्तार गरेको हो ।
पत्नी सरस्वती परियार मेलापात गएको समयमा छोरीलाई आमासँग दुध खुवाउन भन्दै घरबाट छोरी लिएर हिँडेका दिपकले बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा अलपत्र छोडिदिएको पीडित पक्षको आरोप छ ।
परिवार र स्थानीयको सहयोगमा बालिकाको खोजी गरिएको भएपनि २४ घण्टापछि २२ गते दिउँसो कठ्याङ्ग्रिएको अवस्थामा बालिकालाई फेला पारिएको थियो ।
पीडित बालिकाको उद्दारपछि उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा उलगिएकोमा केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
बालिकाकी २५ वर्षीया आमा सरस्वतीले पति दीपक बोहोराविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा असार २३ गते ज्यानसम्बन्धी कसुर शीर्षकमा उजुरी दिनु भएको छ ।
शव पोस्टर्माटमका लागि साउन २३ गते पोखरा पठाइएको छ । धौलागिरी अस्पताल बागलुङमा बालबालिकाको पोस्टमार्टम गर्नको लागि विशेषज्ञ नभएको हुँदा पोखरा पठाइएको धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख डाक्टर अविशेष वाग्लेले बताउनु भयो ।