INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद कायमै रहेका कारण उत्पादन गरेको दुध बिक्री नहुँने गरेको दलित समुदायको गुनासो

जातीय विभेद कायमै रहेका कारण आफूहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुने गरेको दिपायल सिलगढी नगरपालीका–५ धामीगाँउका दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ ।

दिपायल सिलगढी नगरपालिका–५ धामीगाउँकी जोगेनी पार्कीले भैसीपालन गरी दुध उत्पादन गर्दै आएको भएपनि आफू दलित समुदायको व्यक्ति भएको थाँहा पाएपछि नियमित दुध लिदै आएका गैरदलित परिवारले दुध लिन अस्विकार गरेको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘दुध बिक्री गर्न जिल्ला सदरमुकाम सिलगढी बजार गए । भाडाको घरमा बस्दै आएका एक जना परिवारलाइ नियमित ग्राहक बनाए । दुई दिनसम्म नियमित दुध पुर्याए । तेस्रो दिन दलित समुदायको हो भन्ने थाँहा पाएपछि दुध लिन आनाकानी गर्नु भयो । उत्पादन गरेको दुध बिक्री नहुँदा घिउ बनाएर सस्तो मुल्यमा आफ्नै समुदायसँग गाउँघर मै बिक्री गर्न बाध्य छु ।’

दलित समुदायले उत्पादन गरेको दुध गैरदलित समुदायले खरिद नगर्ने भएपछि दलित समुदायले दुध बिक्री गर्न अर्काे दलित परिवार नै खोज्नु पर्ने बाध्यता सृजना भएको स्थानीय दुध व्यवसायी गंगा पार्कीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘रोजगारीका लागि भारत गएका पतिको छतबाट लडेर मृत्यु भयो । पतिको मृत्युपश्चात घर खर्च चलाउन नै समस्या भएपछि भैँसीपालन सुरु गरे । दलित समुदायले उत्पादन गरेको दुध भनेर जिल्लाको प्रमुख व्यापारीक केन्द्र दिपायलमा बिक्री नै हुँदैन् । दलित भएकै कारण उत्पादन गरेको दुध नै बिक्री नभएपछि समस्या भएको छ ।’

नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरी कानुनी रुपमा जातीय छुवाछुत गर्न नपाइने व्यवस्था गरिएकोे भएपनि जिल्लाका ग्रामिण क्षेत्रमा जातीय विभेद कायमै रहेको दलित अधिकारकर्मी गिता नेपालीले बताउनु भयो ।

सिलगढीस्थित खड्का डेरी उद्योगका सञ्चालक रमेश खड्काले सफा तरिकाले ल्याएको दुध जुनसुकै समुदायको भएपनि खरिद गर्ने गरिएको बताउनु भयो ।

उहाँले आफू व्यवसायी भएकोले चाहिने मात्रामा मात्रै दैनिक दुध खरिद गर्दै आएको र कुनै दिन बढी भएमा जुनसुकै समुदायका व्यक्तिले दुध लिएर आएपनि फिर्ता गर्ने गरेको बताउनु भयो ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजिसिंह खड्काले दलित समुदायका व्यक्ति भएकै कारण कुनै डेरी तथा उद्योग व्यवसायीले दुध खरिद गर्न आनाकानी गरेको किटानी जाहेरी आएमा कानुनी रुपमा कार्वाही गरिने प्रतिवद्धता गर्नु भयो ।

अन्य

भिडियो