सप्तकोशी नदीको भङ्गालो बेलका नगरपालिका–८ डुम्रीबोट पश्चिमबाट गाउँतर्फ पसेपछि प्रभावित भएकाहरूलाई प्रदेश सरकार १, सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत उपलब्ध गराउन थालेको छ ।
साउन १६ गतेको वर्षापछि कोशी नदीको भङ्गालो बेलका नगरपालिका–८ बाट वस्तीमा परेपछि सो क्षेत्रका १ हजार ५ सय परिवारका नौ हजार भन्दा बढी प्रभावित भएका छन् ।
कोशी नदी पश्चिमतर्फको डिल कटान गर्दै भङ्गालो गाउँपसेपछि बेलका नगरपालिकाका पाँच ओटा वडाहरू डुवान समस्या रहेको बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताउनु भयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,सिंहदरबारले प्रेस नोट जारी गरी बाढी प्रभावितहरूलाई प्रदेश सरकारमार्फत राहत उपलब्ध गराउन थालेको जानकारी गराएको छ ।
प्राधिकरणले प्रदेश सरकारले साउन १८ गते बाढी प्रभावित क्षेत्रबाट १ हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारेको प्रेस नोटमा उल्लेख गरेको छ ।
मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री साउन १९ गते पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताउनु भएको छ । । मन्त्री कार्कीले भन्नुभयो– बाढी प्रभावितहरूलाई खानले मर्न दिन्नौँ, सरकार उद्दार र राहतको काममा जुटिरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बेलायत सरकारको रकेएर नेपालले प्रदेश सरकारमार्फत बाढीबाट विस्थापित भएकाहरूलाई खाद्यान्न खरिदका लागि ६ लाख रुपियाँ उपलब्ध गराएको कानुनी मन्त्री केदार कार्कीले बताउनु भएको छ ।
रेडक्रस सोसाइटीले १ सय थान त्रिपाल, ६ थान हेल्मेट र खाद्यान्न खरिदका लागि ५० हजार रुपियाँ उपलब्ध गराएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले ९ हजार किलो चामल, ३५ किलो दाल, ३५ लिटर तेल र बिस्कुट,चाऊचाऊ आदि साउन १९ गते बाढी प्रभावितहरूलाई वितरणका लागि पठाएको बताउनु भएको छ ।
सप्तकोशी मुल प्रवाह नै बाँधमा ठोक्किएर साउन १७ गते दिनभर बाँध कटान गरेपछि साउन १८ गते ४ बजेबाट नदी बाढी गाउँमा पसेको बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताउनु भयो । कोशीको भङ्गालो गाउँपसेपछि गाउँ जलमग्न भएको छ ।
जसका कारण बेलका नगरपालिका–८ को सिसौली, वडा–९ को धौरी, वडा–३ को भोटेपुल, दुर्गा मन्दिर, एवीसी टप्पु, जगना, गुणीटोल र वडा–२ को लालभित्ती, बानडाँडा, चन्द्रपुर र वडा–१ को पुरन्दह, करैया, बेलहा डुबानमा परेको छ ।
वि.स.२०४५ सालमा अहिले कोशी फुटेकै ठाउँबाट नदी बग्ने गरेको थियो । पछि कोशी नदी पूर्वतर्फ धकेलिएका कारण पश्चिमी क्षेत्रमा बालुवा गिटी थुप्रिएर केही अग्लो डिल बनेको थियो ।
बाढी प्रभावितहरूको उद्दार गरी सुरक्षित राख्नका लागि बेलका नगरपालिका–९ धौरीमा ५ सय घरपरिवार, वडा–८ को एकता, चिलिया,दुर्गा मन्दिर टोलमा ५ सय घरपरिवार, वडा–३ को वुधवारे, जणना, नारायणपुर, शिवालय मन्दिर, लालभित्त, भागलपुरमा ८ सय घरपरिवारका लागि आश्रयस्थल बनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सञ्चार शाखाले जनाएको छ ।


