मन्थली नगरपालिका–७ भटौलीका ८ वर्षीय विज्ञान पाण्डेलाई ०७९ साउन १४ गते कुटपिट गरेको आरोपमा मन्थली नगरपालिका–१ मन्थली बजार स्थित मन्थली डेण्टल क्लिनिकका सञ्चालक स्वस्थ्यकर्मी ४६ वर्षीय रामेश्वर केसीविरुद्ध पीडितका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
दाँत दुखेपछि दाँत फुकाल्न क्लिनिकमा लगिएका पाण्डेलाई सञ्चालक केसीले कुटपिट गरेको पीडितका काका हरि पाण्डेले जानकारी दिनुभयो ।
पीडित बालक दाँत फुकाल्न आमाको साथमा सो क्लिनिकमा पुग्नुभएको थियो । दाँत फुकाल्ने क्रममा मुखमा हालिएको औषधी थुक्न खोज्दा बालकलाई कुटपिट गरिएको पीडित पक्षको आरोप छ । पीडितको गालामा निलडाम बसेको छ ।
बालकलाई कुटपिट गरेर घाइते भएको विषयमा पीडित पक्षले कुरा गर्दा मरेको छैन, मरेको भए क्षतिपूर्ति दिन्थेँ भन्दै दुर्व्यवहार गरेको पाण्डेले बताउनुभयो ।
बालकको परीक्षण गरी साउन १४ गते तामाकोसी सामूदायिक अस्पतालमा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी इन्स्पेक्टर राजुप्रसाद ढकालले बालक माथि कुटपिट भएको उजुरीको आएको र केसीलाई १५ गते कार्यालयमा झिकाएको जानकारी दिनुभयो ।
केसीमाथि इलाज तथा कुटपिटसम्बन्धी कसूर आकर्षित हुने र सोही अनुसारको कारबाही गरिने इन्स्पेटर ढकालले बताउनुभयो ।
