मानव अधिकार सम्बन्धि पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी जिल्लास्तरीय अनुगमन समिति तनहुँको सदस्यमा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराई चयन हुनु भएको छ ।
साउन ११ गते बसेको जिल्लास्तरीय अनुगमन समितिको बैठकले नागरिक समाजको तर्फबाट इन्सेकलाई सदस्यमा मनोनित गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिमरण वाग्लेको अध्यक्षतामा गठित समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लामा रहेका स्थानीय तहका प्रमुखहरू, जिल्ला न्यायधिवक्ता, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, नेपाल बार एसोसियशनको प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको प्रतिनिधि र गैरसरकारी संस्था महासङ्घको जिल्ला शाखाको प्रतिनिधि सदस्य र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहनु भएको छ ।
बैठकले जिल्लास्तरीय अनुमगन समितिको गठन गर्दै जतिसक्दो चाँडो स्थानीय तहस्तरीय समिति पनि गठन गर्ने निर्णय गरेको थियो ।
बैठकमा समितिका संयोजक वाग्लेले मानव अधिकारको विषय बृहत भएको हुँदा समितिका सबै सदस्यहरूले आ आफ्नो जिम्मेवारीमा रहेका विषयलाई गम्भिरताका साथ कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।
बैठकमा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले जिल्लाको पछिल्लो मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
उक्त समितिलाई क्रियाशील बनाउन माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी संस्था महासङ्घ र नेपाल पत्रकार महासङ्घ तनहँु शाखाको तर्फबाट २०७८ फागुन ५ गते जिल्ला समन्वय समिति तनहुँका प्रमुखलाई ध्यानाकर्षण पत्र दिइएको थियो ।

