आठबिसकोट नगर अस्पताल र नगरपालिकाको कार्यालयमा एम्बुलेन्स नहुँदा नगर अस्पतालमा सुत्केरी हुन नसकेर चौरजहारी मिसन अस्पताल रिफर गरिएकी एक महिलालाई चौरजहारी मिसन असपतालसम्म स्टेचरमा लैजाने क्रममा व्यथाले च्यापेपछि जाजरकोट जिल्लाको भेरी नपा–१० पुलमटेला गाउँमा एक गर्भवति महिला साउन १० गते स्टेचरमा सुत्केरी भएकी छन् ।
रुकुम पश्चिम आठबिसकोट नपा–११ घर भएकी २६ वर्षीया प्रतिमा बिकलाई चार दिन अघि सुत्केरी ब्यथा लागेको र सुत्केरी ब्यथा लागेको भोलिपल्टै नगर अस्पताल आठबिसकोटमा भर्ना भएको उनका आफन्त माया बस्नेतले जानकारी दिनु भएको छ । आठबिसकोट अस्पतालमा सुत्केरी हुन नसकेको र सुत्केरी गराउनका लागि अस्पतालमा सुविधा नभएपछि अस्पतालले जोखिम मोल्न नसकेर प्रतिमालाई चौरजहारी मिसन अस्पतालमा साउन १० गते रिफर गरेको थियो ।
आठबिसकोट नगरपालिकाको एम्बुलेन्स बिग्रिएर मर्मतका लागि जिल्ला बाहिर रहेको छ । नगर अस्पतालमा एम्बुलेन्स नभएको अवस्थामा महिलालाई स्टेचरमा जाजरकोटहुँदै चौरजहारी मिसन अस्पताल लैजाने क्रममा भेरी नगरपालिका–१० पुलमटेलास्थित भेरी नदि नजिक रहेको बीच बाटोमा स्टेचरमा सुत्केरी भएको स्थानीयबासी माया बस्नेतले जानकारी दिनु भएको छ । प्रतिमाको एक छोराको जन्म भएको छ । उनी पहिलो पटक सुत्केरी भएकी हुन ।
माया बस्नेतका अनुसार प्रतिमालाई अस्पताल लैजाने क्रममा ब्यथाले च्यापेपछि नजिक गाउँमा रहेकी सुडेनी (मासिका) सपना शर्माले सफलता पूर्वक खुल्ला बाटोमा सुत्केरी गराएको र बाटोमै सुत्केरी भई छोराको जन्म भएको बस्नेतले जानकारी दिनु भएको छ ।
माया बस्नेतका अनुसार, आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ । नगरपालिकामा एउटा एम्बुलेन्सको व्यवस्था नभएको अबस्थामा सुत्केरी हुनकै लागि यसरी दुख पाउने प्रतिमा त एक प्रतिनिधि पात्र मात्रै हुन् । ग्रामिण भेगमा सडक तथा यातायात सुविधा नहुँदा कैयौं महिलाले सुत्केरी हुन नसकेर ज्यान गुमाउने तथा दुखका साथ सुत्केरी हुनुपर्ने अवस्था रहेको छ ।
