जुम्ला घरभई हाल हुम्लाको अदानचुली गाउँपालिकामा कार्यरत निमित्त प्रमख प्रशासकीय अधिकृत ४० वर्षीय टकदत्त प्याकुरेलमाथि साउन ८ गते साँझ ७ बजे अपरिचित व्यक्तिहरूको समूहले ढुङ्गा प्रहार गरेको पीडितले आरोप लगाउनु भएको छ ।
अधिकृत प्याकुरेलको अदानचुली गाउँपालिका–२ श्रीनगरस्थित निवासमा कार्यपालिकाको बैठक बसिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूको समूहले ढुङ्गा प्रहार गरेको श्रीनगर प्रहरी चौकीका असई कृष्णबहादुर बुढाले जानकारी दिनु भएको छ ।
उक्त समूहले प्रहार गरेको ढुङ्गा लागेर अधिकृत प्याकुरेल सामान्य घाइते हुनु भएको प्रहरीले जनाएको छ । गाउँपालिकामा कर्मचारी राख्ने, नयाँ प्रमुख प्रशासकीय अधिकृत राख्ने विषयमा गाउँपालिकाका पदाधिकारीबिच छलफल भइरहेको अवस्थामा अधिकृत प्याकुरेलमाथि ढुङ्गा प्रहार भएको असई बुढाले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनु भएको छ ।
आफूसहित, कार्यपालिका सदस्य, गाउँपालिकाका लेखापाल, बैङ्कका म्यानेजर आफ्नो कोठा भित्र बसिरहेको अवस्थामा माथिबाट जस्तापातामा ढुङ्गा प्रहार गर्दा लागेको अधिकृत प्याकुरेलले बताउनु भयो ।
आफूमाथि ढुङ्गा प्रहार गरेको घटना सम्बन्धमा कसैमाथि शङ्का नभएको र रातको समय भएकाले ढुङ्गा हान्ने व्यक्ति चिन्न नसकिएको प्याकुरेलले बताउनु भयो । जथाभावी ढुङ्गा हानेपछि उक्त ढुङ्गा आफ्नो ढाडमा लागेको प्याकुरेलले जानकारी दिनु भयो ।
ढुङ्गा लागेर सामान्य घाइते भएका अधिकृत प्याकुरेललाई साउन ८ गते श्रीनगर स्वास्थ्य चौकीमा उपचार पश्चात साउन ९ गते घर फर्किएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक हंस महताराले बताउनु भएको छ ।
ढुङ्गा प्रहार गरे लगत्तै पीडित पक्षले आरोपितको खोजी कार्य गरी कारवहीको माग गर्दै साउन ८ गते श्रीनगर प्रहरी चौकीलाई उजुरी दिएको छ ।