INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरीलाई विष सेवन गराएर हत्या गरेको आरोपमा आमा गिरफ्तार

डेढ वर्षीया छोरीलाई विष सेवन गराएर हत्या गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ सिपवाकी २० वर्षीया किरण लोनियालाई साउन ८ गते सिपवाबाट  गिरफ्तार गरेको छ ।

आरोपितले साउन ७ गते साँझ तरकारीमा छर्ने विषादी आफूले सेवन गरी छोरीलाई पनि खुवाएको र छोरी धेरै रोएपछि मृतकका बुबाले नजिकैको पसलमा गएर बिस्कुट किनेर हातमा दिँदै गर्दा बेहोस भएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

घरका अन्य सदस्यलाई विष सेवनबारे जानकारी नभएकोले शव घर नजिकै खाडल खनेर पुरेका थिए । घटनाका अस्वभाविक भएको हल्ला भएपछि साउन ८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीको टोली घटनास्थलमा पुगेर शव उत्खनन गरी भीम अस्पताल भैरहवामा लगेर पोष्टमार्टम गरेको थियो ।

सोधपुछका क्रममा  मृतककी आमा किरणले आफूलाई सासूले दिनहुँ मानसिक यातना दिएका कारण दुई छोरीसँगै विष खाएर मर्ने योजना बनाएको तर चार वर्षीया छोरी खान नमानेर भागेको र आफूले खाएपछि सानी छोरीलाई खुवाएको बताउनु भयो ।

घटनाका विषयमा मृतकका बुबा २२ वर्षीय धिरज लोनियाले साउन ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।

आरोपितको स्वास्थ्य परीक्षण साउन ८ गते भीम अस्पताल भैरहवामा गरिएको र स्वास्थ्य अवस्था समान्य रहेको छ ।

अन्य

भिडियो