INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मी अभावमा स्वास्थ्य चौकीबाट प्रवाह गरिने सेवा बन्द

स्वामीकार्तिक खापर गाउँपालिकामा स्वास्थ्यकर्मीहरु नभएपछि गाउँपालिका क्षेत्रमा सञ्चालित पाँच ओटा स्वास्थ्य चौकीबाट प्रवाह गरिदै आएको सेवा बन्द भएको छ ।

करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको भरमा सञ्चालित स्वास्थ्य सस्थाहरुमा  साउन १ गतेदेखि करार अवधि थप नगरेपछि सेवा बन्द भएको हो ।

स्थानीय तहको निर्वाचनपछि नयाँ निर्वाचित जनप्रतिनिधले साउन १ गतेदेखि करार सेवाका कर्मचारीहरुको करार अवधि थप नगरेपछि गाउँपालिका भित्रका पाँच ओटा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी विहिन भएपछि स्वास्थ्य सेवा बन्द हुन गएको स्वामीकार्तिक खापर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पारस शाहीले बताउनु भयो ।

स्वास्थ्यकर्मी नभएपछि स्वामीकार्तिक गाउँपालिका–२ फयालगाउँ आधारभूत स्वास्थ्य इकाई केन्द्र, वडा नम्वर १ को खोलीकोट आधारभूत समामुदायीक स्वास्थ्य इकाई केन्द्र, वडा नम्बर ४ को भुर्ने सामुदायीक स्वास्थ्य इकाई केन्द्र, वडा नम्बर ५ को आधारभूूत स्वास्थ्य केन्द्र, जेरा र वडा नम्बर ३ को मिगु सामुदायीक स्वास्थ्य इकाई केन्द्र बन्द रहेका प्रशासकीय अधिकृत शाहीले बताउनु भयो ।

स्वामीकार्तिक खापर गाउँपालिका–१ की कार्तिका बिकलाई सुत्केरी व्यथा लागेपछि आफन्तले फयाल गाउँ स्वास्थ्य ईकाई केन्द्र पुगाएका भएपनि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि उपचार नगरिकनै घर आउन बाध्य भएका थिए । स्वास्थ्य संस्थामा कर्मचारी नहुँदा घर फिर्ता ल्याइरहेको अवस्थामा पत्नीले बाटोमै बच्चालाई जन्म दिएकोे बिकका पति बलबहादुर बि.कले दुखेसो पोख्नु भयो ।

यो घटना एउटा उदारण मात्रै भएको बताउँदै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको व्यवस्थापन नगरि दिँदा स्थानीयले सामान्य उपचारबाट समेत वञ्चित हुनु परेको बिकले बताउनु भयो ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्था नियमित जान भनिएको भएपनि र करार कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कनका आधारमा म्याद थप गर्ने नगर्ने निर्णय गरिने बताउनु भयो ।

राम्रो काम गरेकाहरुलाई करार म्याद थप गरिने र नराम्रो काम गर्ने करार कर्मचारीको म्याद थप नगर्ने पालिकाले निर्णय लिने भएपनि तत्काल कसैलाई पनि नहटाइएको अध्यक्ष रोकायाले बताउनु भयो ।

फयालगाउँ आधारभूत स्वास्थ्य केन्द्र र जेरा आधारभूत केन्द्रमा करारमा कर्मचारी नियुक्ती गरेर वर्र्थिङ सेन्टर नै सञ्चालनमा रहेको भएपनि साउन महिनादेखि करार अवधि थप नगरिएको भन्दै करारका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नगएपछि  गर्भवती, सुत्केरी र असक्तहरुले सास्ती भोग्नु परेको छ ।

नेपालको संबिधानको धार ३५ को १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ भन्ने व्यवस्था गरिएको भएपनि स्वामीकार्तिक खापर गाउँपलिकाका स्थानीयहरु सामान्य चेक जाँच गर्न समेत दुई / तीन घण्टा हिडेर स्वास्थ्य चौकी तथा नीजि अस्पताल धाउन बाध्य भएका छन् ।

अन्य

भिडियो