INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक र एम्बुलेन्सको पहुँच नहुँदा घरमा सुत्केरी हुन बाध्य

आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य संस्था, प्रसुति गृहमै गर्भवती महिला सुत्केरी हुनुपर्ने सरकारको नीति रहेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गर्न प्रोत्साहन गर्नका लागि सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन पनि गरेको छ ।

तर स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई ल्याउनका लागि सडक र एम्बुलेन्सको पहुँच नहुँदा सिंजा गाउँपालिका– ५ र ६ नम्बर वडाका महिला घरमै सुत्केरी हुन बाध्य भएका छन् ।

यि दुई वडा सिंजाका दुर्गम स्थानमा पर्दछ । संघीयता अघि र पछि गरी दुई वडामा कच्ची सडकका ट्याक खोलिएका भएपनि सवारी साधान आवतजावत गर्न मिल्ने सडकको स्तरोन्नति नभएको स्थानीय धनकली बुढाले बताउनु भयो । उहाँले भन्नु भयो यहाँका नागरिक विरामी पर्दा र गर्भवती महिलाले निकै दुख्ख खेप्ने गरेका छन् ।

शनिगाउँ स्वास्थ्य चौकी इन्चार्ज रमेश रावलका अनुसार आर्थिक वर्ष ०७८÷०७९ मा ५ र ६ वडाका २६ जना गर्भवती महिला घरमै सुत्केरी भएको तथ्याङ्क रहेको छ । उहाँले भन्नु भयो शनिगाउँ स्वास्थ्य चौकीको प्रसुति गृहमा ६८ जना र ६ नम्बर वडास्थित दात प्रसुति गृहमा २४ जना गर्भवती महिला सुरक्षित सुत्केरी भएका छन् ।

गएको आर्थिक वर्षमा एक जना नवजात शिशुको मृत्यु भएको छ । गर्भमै मरेको सात महिनाको बच्चा जन्मिएको हो । गर्भवस्थामा सुरक्षा नगर्ने, प्रजनन् अङ्ग परिपक्क नहँुदै सानै उमेर विवाह गरी बच्चा जन्माउने, पोषण युक्त खाने कुराको अभाव र आराम नगर्ने जस्ता कारणले गर्भमै बच्चाको मृत्यु हुने गर्दछ । ११ जना महिला २० वर्ष नपुगी सुत्केरी भएको उहाँले बताउनु भयो ।

यहाँका गाउँबस्ती टाढा छन् । सडक र एम्बुलेन्स पहँुचमा नहँुदा अझै पनि घरमै सुत्केरी हुनेको सङ्ख्या बढ्दो रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो सरकारले स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ । यस्तो सुविधा उपभोग गर्नका लागि गर्भवती महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन प्रेरित छन् । तर भिरालो, ठाडो भुगोल भएका कारण आवतजावतमा समस्या हुने भएकाले घरमै सुत्केरी हुने गरेका छन् ।

गएको आर्थिक वर्षमा यि दुई वडाका ९२ जना सुत्केरी महिलाले प्रोत्साहन भत्ता पाएका छन् । तीन हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र ८ सय प्रोटोकल अनुसार चार पटक गर्भ चेकजाँच गरेबापत सुत्केरी महिलाले रकम प्राप्त गर्ने गरेको शनिगाउँ स्वास्थ्य चौकी इन्चार्ज रावलले बताउनु भयो ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाउँपालिकाको आफ्नै एम्बुलेन्स सञ्चालनमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो सडकको पहुँच भएको गाउँबस्ती एम्बुलेन्सले विरामीसहित सुत्केरी महिला बोक्ने गरेको छ । सडकको पहुँच नभएका ठाउँमा स्टेचरमार्फत विरामी स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । सिंजा गाउँपालिका–५ तत्कालिन शनिगाउँ गाविस भेगमा सडकका ट्याक खोलिएका छन् । तर सडकको स्तरोन्नति गर्नुपर्ने देखिएको छ । चालु आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरेका छौँ । सडक स्तरोन्नति हुनेछन् ।

अन्य

भिडियो