सुत्केरी हुने समय आउनै लागेकोले चिकित्सकको सल्लाह लिनका लागि बेनी अस्पताल आइपुग्नु भएकी बेनी नगरपालिका–६ चुत्रेनीकी महिलालाई अप्रेशन गर्नुपर्ने हुन सक्ने भए यहाँ हुँदैन तपाइ आफू के भन्नुहुन्छ भन्दै चिकित्सकले सोधेपछि महिलाका आफन्तले उहाँलाई पोखरा लिएर गए ।
असार ३२ गते आइपुग्नु भएकी महिलालाई उहाँका पति दिनेश बानियाले बेनीमा जोखिम मोल्न नसक्ने भन्दै पोखरा लिएर जानु भयो ।
हिमाली जिल्ला म्याग्दीको एक मात्रै सरकारी अस्पतालको सेवा साउन १ गतेबाट प्रभावित भएको अस्पतालले जनाएको छ ।
अस्पतालले दिँदै आएको अप्रेशन सेवा दिन नसक्ने र ओपीडी लगायतका अन्य सेवा दिन समेत स्वास्थ्यकर्मी नहुँदा कठिन भएको जनाएको छ ।
जिल्ला सदरमुकाममा रहेको ५० शैया अनुमति प्राप्त बेनी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरू असार मसान्तबाट एकैसाथ बाहिरिएकोले सेवा प्रवाहमा समस्या उत्पन्न भएको हो ।
बेनी अस्पतालको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषबाट तलबभत्ता खानेगरी कार्यरत हेल्थ असिष्टेण्ट तीनजना, अहेब दुईजना र स्टाफ नर्स १२ जना, फार्मेसी सहायक दुई जना अनमी दुई जना, ल्याव टेक्निसियन दुई जना र कार्यालय सहयोगी पाँच जनाको करार नथप्ने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेकाले उनीहरू पदमुक्त भएको अस्पतालले जनाएको छ ।
यसैगरी बेनी अस्पतालको स्वीकृत दरबन्दीबाट करार तर्फबाट कार्यरत स्वास्थ्यकर्मीहरू अनमी दुईजना, स्टाफ नर्स एकजना, ल्याव असिष्टेण्ट एकजना, हेल्थ असिष्टेण्ट दुईजना, ल्याब टेक्निसियन एक जनाको पनि करार थप नहुँदा सेवा प्रभावित भएको छ ।
बेनी अस्पतालमा एनएसआईको तर्फबाट व्ययभार व्यहोर्ने गरी कार्यरत मेडिकल अधिकृत एकजना, स्टाफ नर्स एकजना र एनेस्थेसिया असिष्टेण्ट एकजना गरी कुल ३८ जना असार मसान्तबाट एकैपटक अस्पतालबाट बाहिरिँदा सेवा प्रभावित भएको हो ।
बेनी अस्पतालले असार ३१ गते एक सूचना जारी गरेरै बेनी अस्पतालबाट दिँदै आएको सेवाहरू प्रभावित हुने जनाएको थियो ।
अस्पतालले दुई दिन पहिला दिएको सूचना जस्तै साउन १ गतेबाट सेवाहरू प्रभावित भएका छन् । म्याग्दी सदरमुकाम बेनीमा रहेको अस्पतालमा ५० शैयाको अनुमति भए पनि ६५ बेड सञ्चालनमा रहेका छन् ।
असार मसान्तबाट ३८ कर्मचारीको करार सम्झौता सकिएसँगै नियमअनुसार सञ्चालन हुनुपर्ने मेडिकल वार्ड, सर्जिकल वार्ड, बाल वार्ड र स्त्री तथा प्रसूति वार्ड सञ्चालन गर्न नसकिने भएकोले अब सबैलाई जनरल वार्डबाटै सेवा दिने अवस्थमा अस्पताल नरहेको जनाइएको छ ।
बेनी अस्पतालले दिँदै आएको सर्जिकल (अप्रेशन) सेवा पनि साउन १ गतेबाट रोकिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जितेन्द्र कँडेलले बताउनु भयो ।
बेनी अस्पतालमा यो वर्ष ८ सय महिलाले सुरक्षित सुत्केरी सेवा लिएकोमा १ सय ८० भन्दा धेरैलाई अप्रेशन गरेर सुत्केरी गराइएको उहाँले जानकारी दिनु भयो ।
अहिले एकैपटक ३८ जना स्वास्थ्यकर्मी कर्मचारी बाहिरिँदा हाइड्रोसिल, हर्निया, एपेन्टिसाइटिस जस्ता समस्याको सर्जिकल एवम् सुरक्षित तवरले सुत्केरी गराउनका लागि आवश्यक पर्ने सम्भावित सर्जिकल विधिबाट सुत्केरी बनाउने कार्य समेत गर्न नसकिएको डा.कँडेलले बताउनु भयो ।
बेनी अस्पतालमा म्याग्दी, मुस्ताङ, बागलुङ जिल्लाको पश्चिम भेग तथा पर्वत जिल्लाको जलजला गाउँपालिकाका बिरामीहरूले प्रत्यक्ष सेवा लिने गर्दछन् ।
साविकको धौलागिरी अञ्चलका चार ओटै जिल्लाका बिरामीहरूले प्रत्यक्ष सेवा लिने अस्पतालबाट एकैपटक ३८ जना बाहिरिँदा अस्पताल सञ्चालननै प्रायः ठप्प जस्तै हुने अस्पतालले जनाएको छ ।
बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. कँडेलका अनुसार बेनी अस्पतालका लागि स्वीकृत दरबन्दी ५९ जना भए पनि अहिले दरबन्दीका आधा कर्मचारी पनि छैनन् ।
सातौँदेखि ११ औँ तहसम्मका अधिकृतहरू १९ जनाको दरबन्दी भएपनि अहिले बेनी अस्पतालमा दुई जना मात्रै कार्यरत रहेको उहाँको भनाइ छ ।
बेनी अस्पतालमा अहिले स्वीकृत दरबन्दी ५९ मध्ये २० जना मात्रै कार्यरत छन् । बेनी अस्पतालमा अधिकृत सरहका चिकित्सक कर्मचारीहरू १८ जनाको दरबन्दी रहेको भए पनि दुई जना मात्रै कार्यरत छन् ।