मन्थलीमा निर्माणाधिन १५ शैयाको मन्थली अस्पतालको निर्माण जिम्मा लिएको निर्माण कम्पनि पैसा लिएर सम्पर्कविहीन भएपछि त्यहाँ काम गर्ने श्रमिक बिचल्लिामा परेका छन् ।
निर्माण कम्पनी पैसा लिएर असार दोस्रो सातादेखि सम्पर्कविहीन भएपछि ८० जना श्रमिकले ज्याला पएका छैनन् । ती श्रमिकले गएको मङ्सिरदेखिको ज्याला लिन बाँकी छ ।
२०७९ मङ्सीर ३० गते निर्माण सम्पन्न गर्ने गरी २०७८ भदौ १० गते सो अस्पताल भवनको शिलन्यास गरिएको थियो ।
तर हालसम्म २० प्रतिशत काम पनि सम्पन्न भएको छैन ।

भवन निर्माणको जिम्मा लिएको श्री गाल्वा/लाल शुभ मेन्द्रो जेभी काठमाडौँले दुई महिनादेखि भवन निर्माणको काम अलपत्र पारेर छाडेको छ भने श्रमिकलाई ज्याला समेत दिएको छैन ।
इलामबाट आएर मजदुरी गर्नुभएका इन्द्रकुमार राई कम्पनीले पैसा नदिँदा बसेर खाने खर्च र घर जाने बाटो खर्च दुवै नभएर बिचल्लिामा परेको बताउनुहुन्छ ।
‘पहिला बिल भुक्तानी भएपछि पैसा आउँछ भनेर काम लगायो, पैसा लिएपछि ठेकेदार नै भाग्यो’, उहाँले भन्नुभयो ।
आफूहरू जस्ता ७८ जना बढी मजदुरले सात महिना काम गरेको पैसा लिन बाँकी रहेको राईले बताउनुभयो ।
रामेछाप, सिन्धुली, सर्लाही, इलाम, खोटाङ, भोजपुर लगायत जिल्लाका मजदुरले काम गरेको पारिश्रमिक नपाएको उहाँले बताउनुभयो ।
कूल ९ करोड ३२ लाख रुपैँयामा निर्माण सम्झौता गरेको सो कम्पनिले करिब ३ करोड रुपैँया भुक्तानि लिएको संघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रमुख सुरेश दाहालले जानकारी दिनुभयो ।
उहाँले असार १२ गतेपछि निर्माण कम्पनीका प्रतिनिधि कार्यालयको सम्पर्कमा नआएको भन्दै मजदुरको पारिश्रमिक दिने दायित्व निर्माण कम्पनिकै भएको बताउनुभयो ।