नेपालको स्वास्थ्य सेवा महङ्गो र खर्चिलो भएका कारण धेरैजसो नागरिकले स्वास्थ्य बीमा गरेका छन् । नेपाल सरकारले पनि विपन्न र गरिवीका रेखा मुनि रहेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयनमा ल्याएको हो ।
तर स्वास्थ्य बीमा कार्यक्रममा काम गर्ने कर्मचारीले स्वास्थ्य बीमाको फाइल समयमा इन्ट्री नगर्दा सेवाग्राही मर्कामा परेका छन् । हिमा गाउँपालिका–१ देवारगाउँकी मेनका शाही रक्तस्राव भएपछि उपचारका लागि साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा आउनु भयो ।
तीन महिनाको गर्भावस्थामा रक्तस्राव भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला आउनु भएको हो । उहाँले भन्नुभयो स्वास्थ्य बीमा गरेका छौँ भनेर घरबाट पैसा पनि नल्याएर आयौँ । उपचारको क्रममा अस्पतालमा स्वास्थ्य बीमाको कार्ड दिदा इन्ट्री नभएर कार्यान्वयनमा आएको छैन भन्ने जानकारी प्राप्त भयो ।
बिरामी परेको बेला स्वास्थ्य सेवा लिन सहज होला भनेर ०७८ फागुन महिनामा स्वास्थ्य बीमा गरिएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो स्वास्थ्य बीमा कार्यक्रमका कर्मचारीले ०७९ जेठ महिनादेखि कार्यान्वयनमा आउछ भन्नु भएको थियो । तर साउन महिनाको पहिलो हप्तासम्म पनि स्वास्थ्य बीमाको फाइल इन्ट्री नभएर कार्यान्वयनमा आएको छैन । स्वास्थ्य बीमा कार्यक्रमका कर्मचारीले स्वास्थ्य बीमा समयमा इन्ट्री नगरी कार्यान्वयनमा नल्याएकाले समस्या भएको छ । घरमा पैसा पनि छैन । अस्पतालमा पटक पटक विल काट्नु परेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका अस्पताल निर्देशक राजीव शाहका अनुसार स्वास्थ्य बीमाका यस्ता समस्या पटक पटक आउने गरेका छन् । स्वास्थ्य बीमा दर्ता सहयोगी कर्मचारीले फिल्डबाट समयमा बीमा फाइल ल्याएर इन्ट्री नगर्दा समस्या भएको हो । यसले गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको छ । बीमा दर्ता सहयोग कर्मचारी र स्वास्थ्य बीमा कार्यालय सचेत हुनुपर्ने देखिएको उहाँले बताउनु भयो ।
स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला संयोजक कमल रावतका अनुसार त्यो क्षेत्रमा काम गर्ने बीमा दर्ता सहयोगी कर्मचारी शेरबहादुर शाहीले स्वास्थ्य बीमा फाइल समयमा नल्याउदा समस्या भएको हो । फिल्डमा भएकाले सम्पर्क हुन सकेको छैन । यसको समस्या समाधान समयमै गर्ने छौँ ।
एकले अर्काको कार्ड प्रयोग
अस्पतालमा उपचारको क्रममा स्वास्थ्य बीमा कार्ड एकले अर्काको कार्ड प्रयोग गर्नेको सङ्ख्या बढेको जनगुनासो आउने गरेको छ । यस्तो जनगुनासो आएपछि स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय, जुम्लाद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको ०७९ असार मसान्तमा संयुक्त रुपमा अनुगमन गरेको थियो ।
उहाँले भन्नुभयो, ‘प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा भर्ना भएका ९० प्रतिशत बिरामीले स्वास्थ्य बीमा कार्ड अनाधिकृत रूपमा प्रयोग गरेको पाइएको थियो । अर्काको नाममा प्रयोग गर्ने व्यक्तिलाई कानुनी कारवाहीदेखि उपचारमा लागेको खर्चको सबै बिल आफै भुक्तानी गर्न लगाइएको छ ।’
पहिलोपटक अनुगमन भएकाले धेरैलाई सचेत समेत गराइएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जनस्वास्थ्य निरीक्षक रावतले जानकारी दिनुभयो । अर्कैको नाममा प्रयोग भएका बीमा कार्ड समेत जफत भएको स्वास्थ्य बीमा बोर्ड, जुम्लाले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम देशकै नमुना कार्यक्रम भएतापनि बीमा गरेको व्यक्तिले पाउने सेवा अर्कोले पाउदा बीमा कार्यक्रम माथि प्रश्न उठ्ने गरेको यहाँका सरोकारवाला बताउँछन् ।
६० हजार बढीको स्वास्थ्य बीमा
जुम्लामा ६० हजार १ सय ५६ जनाले स्वास्थ्य बीमा गरेको जिल्ला संयोजक रावतले बताउनु भयो । उहाँले भन्नुभयो आफैले बीमाको पैसा तिरेर ३१ हजार ३ सय ५४ जनाले सामान्य बीमा गरेका छन् भने बीमा रकमको ५० प्रतिशत रकम तिरेर ८ सय ९ जना महिला स्वयम् सेविकाको स्वास्थ्य बीमा भएको छ ।
अतिविपन्न २५ हजार ३ सय ३२ जनाको निशुल्क स्वास्थ्य बीमा भएको स्वास्थ्य बीमा कार्यालय, जुम्लाले जनाएको छ । यस्तै ७० वर्ष माथिका २ हजार ३ सय ५७ जना ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा भएको छ ।
एचआइभी एड्स रोगी तीन जना, टिभी रोग लागेका नौ जना र क वर्गका पूर्ण अशक्त अपाङ्गता भएका २ सय ५४ जना व्यक्तिको निशुल्क स्वास्थ्य बीमा भएको जनाइएको छ ।
यसैगरी जुम्लाको स्थानीय तह मध्ये सबै भन्दा बढी चन्दननाथ नगरपालिकामा बसोबास गर्ने नागरिकले स्वास्थ्य बीमा गरेका छन् । चन्दननाथमा १४ हजार ७ सय ७९ जना, गुठीचौरमा ५ हजार ७ सय ७५ जना, हिमामा ४ हजार ५ सय २० जना, कनकासुन्दरीमा ५ हजार ३ सय ८ जना, पातारासीमा ८ हजार ३ सय १८ जना, सिंजामा ४ हजार ८ सय ७७ जना, तातोपानीमा ९ हजार १ सय ८६ जना र तिलामा ७ हजार ३ सय ९५ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
तातोपानी गाउँपालिकामा तत्कालिन गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जनतासँग अध्यक्ष कार्यक्रम अन्तरगत १० लाख बजेट विनियोजन गरी विपन्न नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्नु भएको थियो । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले ३ सय ५४ जना स्वास्थ्यकर्मी र कर्मचारीको एकमुष्ट स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालय, जुम्लाले जनाएको छ ।
