जिल्ला सरदमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा शल्यक्रिया हुने विशेषज्ञ सेवा बन्द भएको छ ।
जिल्लाको सदरमुकाम चरिकोटमा रहेको ५० वेड क्षमताको अस्पतालमा साउन १ गतेबाट शल्यक्रिया सेवा बन्द भएको हो ।
चिकित्सकको करार अवधि थप नभएपछि शल्यक्रिया सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले बताउनुभयो ।
कन्सल्टेन्सी मार्फत एक जना विशेषज्ञ चिकित्सक राखेको अस्पतालले खर्च धान्न नसकिने भन्दै करार नविकरण नगरेपछि शल्यक्रिया सेवा बन्द भएको हो ।
अस्पतालले हाल निःशुल्क सेवा दिइरहेको मातृशिशु कार्यक्रमको अप्रेसन मार्फत गरिने प्रसूति सेवा, हर्निया, एपेन्डिसाइड लगायतका सबै शल्यक्रिया बन्द भएको अस्पतालले जनाएको छ ।
७२ जना कर्मचारी कार्यरत अस्पतालले सबै सेवा निःशुल्क दिँदै आएको छ ।
अस्पतालमा कार्यरत ६३ जना कर्मचारीलाई आर्थिक वर्ष ०७९/०८० को लागि करार सेवा नवीकरण नगर्न वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले पत्र पठाएको छ ।
सबै सेवा निःशुल्क दिँदै आएको अस्पतालमा भर्ना हुने बिरामी र कुरुवाका लागि खानासमेत दिने गरिएको छ ।
तर आर्थिक संकटमा अस्पताल परेपछि यी सेवा पनि कुनै बेला बन्द हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।
निशुल्क सेवा प्रदान गर्दै आएको अस्पतालमा दैनिक २ सय देखी ३ सय जना बिरामी उपचार गर्न आउने गरेका छन् ।
यस अस्पतालमा आउने जिल्लाका सेवाग्राहीले अब धुलिखेल वा काठमाडौँका अस्पताल धाउनु पर्ने बाध्यता भएको छ ।