लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक अस्पताल दाडमा साउन १ गतेदेखि ओपिडी र आकष्मिक टिकट, बेड तथा रक्त सेवा निशुल्क प्रवाह गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई ओपिडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेपछि साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो ।
प्रदेश सरकारले ओपिडी सेवा र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रूपियाँ बिनियोजन गरेको छ । लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार ‘टिकट शुल्क नलाग्ने भएपनि बिरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’ ।
स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारूले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई ओपिडी र आकष्मिक कक्षको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेकाले साउन १ गतेदेखि यो सेवालाई कार्यान्वयन गर्ने बताउनु भयो ।
यसैगरी, लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुने गरि प्रदेश सरकारले बिरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्क निशुल्क गरेको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र रक्तसञ्चार केन्द्र बुटवलकाबिच रगतका लागि लाग्ने सबै सेवा शुल्क निशुल्क गर्ने सहमति भएको हो । सहमतीमा अस्पतालकातर्फबाट अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकाल र रक्तसंचारकेन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा असार ३२ गते हस्ताक्षर गर्नुभएको थियो ।
हस्ताक्षरमा साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसञ्चार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो । लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको बजेटवाट रगतमा लाग्ने सेवा शुल्क सरकारले दिने रक्त संचार केन्द्र बुटवलका संयोजक तथा नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनीले बताउनु भयो ।
पंगेनीले प्रदेश भरि ६० हजार रगत संकलन र व्यवस्थापन रेडक्रस मार्फत भइरहेको भन्दै अब सरकारी अस्पतालमा रगतका लागि लाग्ने सेवा शुल्क पनि सरकारले दिने भएपछि लुम्बिनीमा रगत पुर्णरुपमा निशुल्क भएको बताउनु भयो ।
अस्पतालमा आएका बिरामीलाई रगत आवश्यक पर्ने भए चिकित्सकहरूको सिफारिसमा रक्त सञ्चार केन्द्रले पूर्णरुपमा निशुल्क रगत उपलब्ध गराउने अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा इन्द्र ढकालले बताउनु भयो । यस अघि रगतका लागि आवश्यक पर्ने कवबर, स्टोर म्यापिङलगायत गरी ८ सय रूपियाँ सम्म बिरामीले तिर्नु पर्दथ्यो ।