INSEC Online

📅 २०८३ जेष्ठ २१

सिंजाको मुकाम नराकोट बजारमा खानेपानी अभाव

सिंजा गाउँपालिकाको सदरमुकाम नराकोट बजारमा तीन महिनादेखि खानेपानीको अभाव भएको छ । यहाँ शहरीकरण भएपछि जनघनत्व बृद्धि हुँदै जानु, खडेरीले पानीका स्रोत सुक्दै जानु र थप संरचना निर्माण नहुनुले खानेपानी अभाव भएको हो ।

सिजा गाउँपालिका–३ नराकोटका यशोधा बुढाले भन्नुभयो ‘धारा भएर के गर्ने ? पानी नै आउँदैन, पानी नहुँदा सरसफाईदेखि खाना पकाउनेसम्म समस्या भएको छ ।

दैनिक जसो बिहान खानेपानीको जोहो गर्नुपर्ने स्थिति छ । बिहान र बेलुका करिब दुई घण्टा पानीको जोहो गर्नमै बित्छ । खानेपानीका धारा छन् तर धारामा तीन महिनादेखि पानी आएको छैन । धारामा नियमित पानी नआउँदा पानी भर्नकै लागि केही स्थानीय हिमा नदीसम्म पुग्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।

मानवीय कमजोरीका कारण जलवायुमा देखिएको असरले खानेपानीको मुहान सुकिरहेको स्थानीय उमेश बुढाले बताउनु भयो । ‘पहिले पिउने, सरसफाई गर्नेदेखि नजिकैको करेसाबारीमा सिँचाई गर्नसम्म यही पानीले पुग्थ्यो,’ उहाँले भन्नुभयोे, जनघनत्व बृद्धि हुँदै गयो, मुहान सुक्दै गए अहिले पिउने पानीकै लागि मुस्किल भयो ।’

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नराकोट बजारमा खानेपानी अभाव भएको स्वीकान गर्नु भयो । उहाँले भन्नु भयो टोल टोलमा खानेपानीका धारा छन् । नियमित पानी आउदैनन् । पुराना आयोजना भएकाले जीर्ण छन् । पानीका मुल सुक्दै गए । जनसङ्ख्या बृद्धि हँुदै गयो । यसले गर्दा खानेपानी अपुग भएको हो ।

यहाँ खानेपानी आपूर्तिका लागि एक घर एक धारा बृहत खानेपानी आयोजना बनाएका छौँ । उहाँले भन्नुभयो सङ्घ र प्रदेश सरकारसँग बजेट माग गर्ने योजना बनाएका छौँ । सिजा गाउँपालिका–२ घोडेङ्गा गाउँको लेक र ६ नम्बर वडाको लेकमा पर्ने दुई ठाउँको खानेपानीको मुल छनोट गरेका छौँ । यि दुई ठाउँ मध्ये जुन ठाउँमा सहज हुन्छ त्यही ठाउँको मुलबाट खानेपानी ल्याउने योजना बनाएका छौँ । सिंजा गाउँपालिका–३ को जनसङ्ख्या २ हजार ४ सय ७३ रहेको छ ।
PhotoJumla20220719

अन्य

भिडियो