सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आएकी २२ वर्षीया राधिका कार्कीलाई गत जेठ १४ गते क्षिरेश्वरनाथ नपा–५ का २८ वर्षीय पति अरुणकुमार साहले करेन्ट लगाएर हत्या प्रयास गरिएपछि उपचारार्थ अवस्थाको मानव अधिकारकर्मीहरूले असार ३१ गते अनुगमन गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका मानव अधिकार अधिकृत मनमाया राना मगर, महिला मानव अधिकार रक्षक संजाल धनुषाका अध्यक्ष तथा अधिवक्ता रेखा झा, इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंह, महिला अधिकारकर्मी जमुना भुजेल र सुभद्रा आलेलगायतको टोलीले उपचारार्थ रहनु भएकी पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
घाइते भई उपचारमा रहनु भएकी कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन असार ३१ गते प्रादेशिक अस्पताल जनकपुर पुगेका मानव अधिकारकर्मीको टोलीले पीडितको उपचार र हेरचाहमा कुनै प्रकारको कमी नगर्न मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष अङ्कुर साहलाई आग्रह गरेको छ ।
पीडितको उपचारमा संलग्न चिकित्सक टोली र प्रशासनसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अधिकारकर्मीको टोलीले पीडित पूर्ण रुपमा निको नहुञ्जेलसम्म औषधि उपचारमा कुनै प्रकारको त्रुटि नगर्न आग्रह गरेको छ ।
उपचारमा रहनु भएकी बिरामी पूर्ण रुपमा निको नहुँँदै अस्पतालबाट घर लैजान चिकित्सकहरूको टिमले राधिका कार्कीको आमा अम्बिका कार्कीलाई जानकारी गराएपछि पीडितको स्वास्थ्य अवस्थाबारे मानव अधिकारकर्मीको टोलीले जानकारी लिँदै तत्काल पूर्ण रुपमा स्वस्थ नहुञ्जेलसम्म अस्पतालमा उपचार गर्न अस्पताल प्रशासनसँग आग्रह गरेको हो ।
उपचारको क्रममा यसअघि राधिकाको हातका र गोडाका औँला काटनुपर्ने बताएको भएपनि अहिले ९० प्रतिशत भागमा मासु पलाएको र घाउ निको भएकाले गर्दा कुनै पनि अङ्ग काटनु नपर्ने डा. आश्विनी झाले बताउनु भयो ।
पीडित राधिका कार्की र क्षिरेश्वरनाथ नपा–५ का २८ वर्षीय अरुणकुमार साहले प्रेम विवाह गरेर जनकपुरमा बस्दै आएका थिए । साहले करेन्ट लगाएर हत्या प्रयास गरेको पीडित राधिकाको आरोप छ ।
आरोपित साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा असार ५ गते पीडितकी आमा अम्बिका कार्कीले उजुरी दिनु भएको छ । घटना लगतै आरोपित साह ‘फरार’ भएको प्रहरीले जनाएको छ ।
