INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलुहिंसा पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग

घरेलुहिंसा पीडित तिला गाउँपालिका–७ तुहीगाउँकी २३ वर्षीया रमीता रावत (बुढा) लाई कानुनी प्रकृयामा लैजान असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा पुग्न समस्या भएको भन्दै इन्सेकद्वारा गठित जिल्ला स्तरीय सिफारिस संयन्त्र, जुम्लामा सहयोगको लागि पीडितले जेठ ३१ गते निवेदन दिएपछि इन्सेकबाट सहयोग रकम हस्तान्तरण भएको हो ।

मानव अधिकार सहायता कक्षको असार १० गतेको निर्णय अनुसार उक्त रकम हस्तान्तरण गरिएको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनु भयो ।

जिल्ला अदालतमा उजुरी दिएपनि आर्थिक अवस्था कमजोर रहेकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो । पीडित महिलालाई जिल्ला सिफारिस संयन्त्रका संयोजक तथा नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्रबहादुर शाहीले पाँच हजार रुपियाँ नगद हस्तान्तरण गर्नु भएको हो ।

तिला गाउँपालिका–७ तुहीगाउँका २५ वर्षीय गोपाल बुढासँग ०७४ सालमा प्रेम विवाह भई ०७५ कात्तिक १५ गते छोरा युवराज बुढाको जन्म भएको जिल्ला अदालत जुम्लामा ०७९ जेठ ३१ गते दर्ता भएको सम्वन्ध विच्छेद उजुरी पत्रमा उल्लेख गरिएको छ ।

०७८ चैत मसान्तमा घरका सामान र छोरासमेतलाई घर निकाला गरेको पीडित रमीता रावतले बताउनु भयो । उहाँले भन्नु भयो “घर निकाला गरेदेखि छोरासहित तिला गाउँपालिका–९ राँसागाउँ माइती घरमै बस्दै आएकी छु ।”

Jumlaphoto20220714

अन्य

भिडियो