विद्यालय सञ्चालन भएको दुई महिना बिती सक्दासमेत विद्यार्थीहरू पाठ्य पुस्तक नपाए पछि विद्यार्थीहरूको पठन पाठन प्रभावित बनेको छ ।
पठनपाठन सुरू भएको लामो समयसम्म पनि विद्यालयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट बञ्चित बनेका छन् ।
जिल्ला सदरमुकाम लिवाङमै रहेको बालकल्याण नमुना मावि थावाङ गाउँपालिकामा रहेको बीर बलभद्र नमुना माविमा अंग्रेजी माध्यमबाट कक्षा दशसम्म पठनपाठन हुने गरेको छ भने जिल्लाका अधिकांश विद्यालयका साना कक्षाहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ ।
हालसम्म कक्षा एक, दुई, तीन, चार, सात र नौ कक्षाका अङ्ग्रेजी माध्यमका कुनै पनि पाठ्यपुस्तकहरू विद्यार्थीहरूले पढ्न पाएका छैनन् ।
पाठ्यपुस्तक नआएपछि आर्थिक अवस्था राम्रो भएकाहरूले प्रति किताव ६ सय रूपियाँ तिरेर निजि कम्पनीका पुस्तकहरू खरिद गरी अध्ययन गरेका छन् भने मोवाइल हुने जतिले फोटो खिचेर पढ्ने गरेको बीर बलभद्र नमुना माविमा कक्षा नौमा अध्यनरत छात्रा मन्जु पुन मगरले बताउनु भयो ।
विद्यालयमै पाठ्यपुस्तक नआएपछि शिक्षकहरूले दिएको नोटको भरमा पठनपाठन भइरहेको बीर वलभद्र नमुना माविमा कक्षा नौमा अध्यनरत मिलन विश्वकर्माले बताउनु भयो ।
बालकल्याण नमुना माविका प्रधानध्यापक मधुसुधन पोख्रेलले कतिपयले पुराना पुस्तकले काम चलिरहेको बदाउदै कक्षा एक देखि तीनसम्म अङ्ग्रेजी भाषा विषयको पुस्तक भए पनि कक्षा चार सात र नौको नयाँ कितावहरू नआएको बताउनु भयो ।
बीर वलभद्र नमुना माविका प्रधानाध्यापक कुलबहादुर वलीले पाठ्पुस्तक नआउदा पठनपाठनमा समस्या भएको बताउनु भयो ।
१ देखि ७ र ९ कक्षाको विताव नै नछापिएको बताउँदै पुरानो कोर्सको पनि ट्रास्लेट नै नआएको बताउनु भयो ।
स्थानीय तह चुनावको मतपत्र समयमै छाप्न सक्ने जनक शिक्षा समग्री केन्द्रले पाठ्यपुस्तक समयमै छाप्न नसक्नु दुखद भएको वीर वलभद्र माविका सहायक प्रधानाध्यापक उदय घर्ती मगरले बताउनु भयो ।
अंगे्रजी माध्यमको मात्र नभइ जिल्ला भरीका अधिकांश विद्यालयमा नेपाली माध्यमको पुस्तक समेत आइपुगेको छैन् । नेपाली माध्यम अन्तर्गत कक्षा ६ को विज्ञान, अंग्रेजी र नेपाली कक्षा आठको अङ्ग्रेजी, स्वास्थ्य, सामाजिक र पेशा कक्षा नौको एच्छिक कम्प्युटर, कक्षा १० को कम्प्युटर र भुगोल विषयको पाठ्यपुस्तक अझै नआएको पुर्णीमा स्टेशनरी रोल्पाका सञ्चालक घनश्याम आचार्यले बताउनु भयो ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रोल्पाका अध्यक्ष सालिग्राम सुवेदीका अनुसार यस वर्ष कक्षा एक देखि सात र कक्षा नौको अंग्रजी भाषा विषयको पाठ्पुस्तक र नेपाली भाषा विषय अन्तर्गत कक्षा ६ को विज्ञान, कक्षा ८ को स्वास्थ्य शारीरिक विषय नेपाल सरकारले नै हालसम्म नछापेको बताउनु भयो । उहाँका अनुसार जिल्लाभर कक्षा ६ को अङ्ग्रेजी र नेपाली विषयको पाठ्यपुस्तक पचास प्रतिसत मात्र आएको छ ।