शिक्षक कुटपिट घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय, धनकुटाले दर्ता गर्न नमानेको पीडितले आरोप लगाउनु भएको छ ।
घटनामा संलग्न व्यक्तिकाविरूद्व जिल्ला प्रहरी कार्यालयमा असार २८ र २९ गते उजुरी दर्ता गर्न जाँदा जिल्ला प्रहरी कार्यालय, धनकुटाका डीएसपी चिरञ्जीवी दाहालले उजुरी लिन अस्वीकार गर्नु भएको पीडित यमबहादुर बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको उजुरी किन र कुन कारणले लिन नमान्नु भएको भन्ने इन्सेक प्रतिनिधिको प्रश्नमा डीएसपी दाहालले उजुरी लिनु नलिनु प्रहरीको आन्तरिक विषय भएको बताउनु भएको छ । उहाँले प्रहरीले अनुसन्धान गरिरहेको तर, उजुरी दर्ता गरेको नगरेको आन्तरिक विषय भएको बताउनु भयो ।
धनकुटामा यसअघि धेरै विषयमा उजुरी नपरेकाले अनुसन्धान गर्न नसकिएको भनेर प्रहरी जानकारी गराउने गरेको थियो, तर यो पटक उजुरी दर्ता नगरी अनुसन्धान हुँदैछ भन्ने इन्सेक प्रतिनिधिको प्रश्नमा डिएसपी दाहालले सबै आन्तरिक विषय भन्न नमिल्ने बताउनु भयो ।
धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक ४३ वर्षीय यमबहादुर बस्नेतमाथि विद्यालयमै असार २६ गते कुटपिट भएको थियो ।
प्रधानाध्यापक बस्नेतलाई सोही विद्यालयका शिक्षक चन्द्रकुमार राईले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपका विषयमा विद्यालयमा असार २६ गते छलफल भइरहेका बेला कुटपिट भएको शिक्षक बस्नेतको आरोप छ ।
धनकुटा नगरपालिका–८ का वडाध्यक्ष ४१ वर्षीय रसबहादुर राईसहित धनकुटा नगरपालिका–७ का नेकपा एमाले निकट युवा सङघका जिल्ला उपाध्यक्ष ३६ वर्षीय सन्देश आठपहरिया लगायतको समूहले कुटपिट गरेको बस्नेतको आरोप छ ।
कुटपिटबाट प्रधानाध्यापक बस्नेतको दाहिने गोडा भाँचिएको छ । उहाँको आँखा र शरीरका अन्य भागहरूमा चोट लागेको छ ।
घाइते शिक्षकको असार २६ गते धनकुटा जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि असार २७ गते सुनसरीको इटहरीस्थित बेदान्त अस्पतालमा उपचार गराएर असार २८ गते धनकुटा ल्याइएको छ ।
छात्रामाथि विद्यालयका शिक्षकले यौन दुर्व्यवहार गरेको विषयमा असार २६ गते विद्यालय प्रशासनमा छलफल भइरहेका बेला सन्देश आठपहरियाले कुर्सीबाट लछारपछार गर्दै बाहिर निकाले । त्यसपछि सिँढीमा झारेर ५-७ जनाको समुहले मलाई कुटपिट गरे’ घाइते बस्नेत इन्सेक प्रतिनिधिसँगको भेटमा भन्नुभयो ।
शिक्षक बस्नेतले ‘त्यो समूहमा वडाध्यक्ष राई, दुई जना वडासदस्य, एमालेका नेता कार्यकर्ता पनि थिए । म त्यसै पनि अपाङ्गता भएको व्यक्ति हुँ । म माथि अन्याय गरियो । यसले मलाई मानसिक रूपमा कमजोर बनाएको छ ।’ इन्सेक प्रतिनिधिसँग बताउनु भएको छ ।
प्रधानाध्यापक बस्नेतले विद्यालयको विषयलाई लिए राजनीति प्रतिसोध साँध्न खोजिएको आरोप लगाउनु भएको छ । ‘जसले गल्ती गरेको भए पनि कारबाहीको भागेदार बनाइनुपर्छ’ ‘तर, शान्ति क्षेत्र भनिएको विद्यालय क्षेत्रमा आएर जनप्रतिनिधिले गुण्डागर्दीको शैलीमा कुटपिट गर्नुले विद्यालयको मर्यादामा आँच पुगेको छ ।’ शिक्षक बस्नेतको भनाइ छ ।

यौन दुर्व्यवहार घटना विद्यालयमै मिलाउन खोजेको आरोप
विद्यालयका शिक्षक चन्द्रकुमार राईले कक्षा ८ देखि कक्षा १० सम्मका छात्राहरूलाई गृहकार्य र कक्षाकार्यका बहानामा यौन दुर्व्यवहार गरेको घटना असार २१ गते बाहिरिएपछि विद्यार्थीहरूले असार २२ गते आरोपित शिक्षकविरूद्ध विद्यालय प्रशासनमा उजुरी दिएका थिए ।
पीडित छात्राहरूले सामूहिक रूपमा आरोपित शिक्षकलाई कारबाहीको माग गर्दै विद्यालय प्रशासनमा दिएको निवेदन हेडसरले च्यातेर फालिदिएपछि आफूहरूले असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छात्राहरूको भनाइ छ ।
आरोपित शिक्षकलाई असार २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित छात्राहरूले आरोपित शिक्षकविरूद्ध दिएको उजुरी विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतले च्यातेर विद्यालयमै घटना मिलाउन खोजको आरोप पीडित छात्राहरूको छ ।
कारबाहीको माग
शिक्षक बस्नेतलाई कार्यकक्षमै कुटपिट गरेको आरोपमा लागेका सबैलाई कारबाहीको माग गर्दै धनकुटास्थित विभिन्न शिक्षक सङ्गठनले विज्ञप्ति जारी गरी कारबाहीको माग गरेका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङघ र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शिक्षक कुटपिटको विषयलाई लिएर कारबाहीको माग गरेका हुन् ।
शिक्षक बस्नेतलाई कार्यकक्षमा भएको कुटपिटका दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग विज्ञप्तीमार्फत गरिएको छ ।
नेपाल शिक्षक सङ्घ प्रदेश १ का उपाध्यक्ष गङ्गाराम ढुङ्गानाले शिक्षकको कार्यकक्षमा भएको कुटपिट अमानविय र अक्षम्य भएको बताउँदै दोषीलाई कारबाही गरी सुरक्षित ढङ्गले काम गर्ने व्यवस्था मिलाउन राज्यसँग माग गर्नु भयो । उहाँले यस्ता घटना दोहोरिन नदिन र राज्यले भनेको विद्यालय शान्ति क्षेत्र कायम गर्न राज्य गम्भीर बन्नुपर्ने बताउनु भयो ।

मेरो संलग्नता छैन- वडाध्यक्ष
धनकुटा नगरपालिका–८ का वडाध्यक्ष रसबहादुर राईले प्रधानाध्यापक कुटपिट घटनामा आफ्नो संलग्नता नभएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ । वडाध्यक्ष राईले विज्ञप्ति जारी गर्दै उक्त घटना हुँदा वडा सदस्य चौतिसलाल राईसहित पुगेको भएपनि संलग्नता नभएको बताउनु भएको हो ।

संलग्नता छैन- युवा सङघ
एमाले निकट युवा सङ्घले शिक्षक कुटपिटको घटनामा आफ्नो संलग्ना नभएको जनाएको छ । युवा सङ्घ धनकुटा अध्यक्ष प्रविण पोखरेलले जारी गरेको विज्ञप्तिमा उपाध्यक्षको कुनै संलग्नता नरहेको दाबी गरिएको छ । यो घटनालाई राजनीतिकरण गरिएको भन्दै युवा सङ्घले आपत्ति जनाएको छ । तर, घटनामा युवा सङघको जिल्ला उपाध्यक्ष सन्देश आठपहरियाको संलग्नता रहेको पीडित शिक्षक बस्नेतको आरोप छ । युवा सङ्घ धनकुटाले विज्ञप्ति जारी गरी घटनामा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेको छ ।
