INSEC Online

📅 २०८३ जेष्ठ २१

तुर्माखाँद गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई समाजिक सुरक्षा भत्ता वितरण

सरकारबाट भत्ता नपाउने ‘ग’ र ‘घ’ वर्गका परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्तिहरुलाई तुर्माखाँद गाउँपालिकाले समाजिक सुरक्षा वाफत अपाङ्गता भत्ता रकम वितरण गरेको छ ।

गाउँपालिकामा रहेका आठ ओटै वडाबाट अपाङ्गता परिचय पत्र प्राप्त १ सय ७८ व्यक्तिको विवरण संकलन गरेर रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष डम्बर बीसीले बताउनु भयो ।

‘ग’ वर्गको अपाङ्गता परचिय पत्र प्राप्त व्यक्तिलाई प्रतिमहिना ८ सय र ‘घ’ वर्गका  अपाङ्गता भएका व्यक्तिलाई प्रतिमहिना ६ सय रुपियाँ प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी कृष्ण सोडारीले बताउनु भयो ।

चालु आर्थिक वर्षको १२ महिनाको रकम ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिले प्रतिव्यक्ति ९ हजार ६ सय र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले ७ हजार २ सय रुपियाँ एकमुष्ट प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

सरकारले भत्ता नदिने अपाङ्गको ‘ग’ र ‘घ’ वर्गमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले समाजिक सुरक्षा भत्ता नदिने गरेको भएपनि चालु आर्थिक वर्षबाट दोहोर सुविधा नपर्ने गरेर यस्ता व्यक्तिलाई भत्ता दिने निर्णय गरिएको गाउँपाकिा अध्यक्ष बीसीले बताउनु भयो ।

उहाँले भन्नु भयो– “ गाउँपालिकाले आगामी हरेक वर्ष अपाङ्गता भएका व्यक्तिहरुको विवरण संलकन र अद्यावधिक गरेर भत्ता वितरण गर्ने छ । अपाङ्गता परिचय पत्र पाउने तर सरकारले कुनै सहुलियत नदिने भएपछि नजिकको सरकारको हिसाबमा हामीले भत्ता दिन शुरु गरेका हौँ ।”

तुर्माखाँद गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिमा न्यायपूर्ण निर्णय गरेको र कानुन निर्माण यसको दीर्घकालिन व्यवस्थाको आवश्यकता रहेको अपाङ्ग संघ, अछामका अध्यक्ष जंग विकको भनाइ छ ।

अपाङ्ग पचिय पत्र प्राप्त मध्येका ‘क’ वर्गले ३ हजार ९ सय ९० र ‘ख’ वर्गलाई २ हजार १ सय २८ रुपियाँ संघीय सरकारले भत्ता दिँदै आएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुका अधिकारसम्बन्धी महासन्धी २००६ मा जिवन निर्वाहको निरन्तर सुधारमा उल्लेख गरिएको छ ।

नेपालमा रहेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई नेपाल सरकारबाट तोकिए बमोजिमको आर्थिक सहयोग वा सामाजिक सुरक्षा प्राप्त गर्ने अधिकार हुनेछ भनेर उल्लेख गरिएको छ ।

अन्य

भिडियो