तिला गाउँपालिका–८ जुम्लाकोटस्थित देउराली माध्यमिक विद्यालयका विद्यार्थीले अनुशासन पालना नगरेको भन्दै सो विद्यालयका शिक्षकले कक्षा नौ मा अध्ययनरत चार जना विद्यार्थीको कपाल कक्षा कोठामै अन्य विद्यार्थीका अगाडि काटेर दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पीडित विद्यार्थीका अनुसार माध्यमिक तहमा सामाजिक विषयसमेत पढाउने विद्यालयका प्रधानाध्यापक रामभजन यादवले जबरजस्ती कपाल काटिदिनु भएको हो ।

कक्षा कोठामै विद्यार्थीहरूको कपाल काटिएको र अर्काे दिन आउँदा सबै विद्यार्थीहरूले कपाल काटेर विद्यालयको पोशाकमा आउन निर्देशन गरिएको भन्दै कपाल काट्दै गरिएको भिडियो सामाजिक सञ्जालमा समेत पोष्ट गरिएको छ ।
अनुशासन पालन नगरेको नाममा शिक्षकले नै जबरजस्ती कक्षाकोठामै कठालो समातेर कपाल काट्दै गरेको भिडियो सामाजिक सज्जालमा पोष्ट गरी दुव्र्यवहार गरेको विद्यार्थीले गुनासो गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक रामभजन यादवले भन्नु भयो–‘लामो कपाल पालेर आएका विद्यार्थीलाई कपाल काटेर आउ भनेर हप्ता दिनदेखि सम्झाउदै आएका यियौँ । तर, २-४ जना विद्यार्थीले टेरेनन् । अनुशासनको पालन गरेनन् । अनुशासन पालन गराउनका लागि कक्षा कोठामै कपाल काटिदिएका हौँ ।’
तिला गाउँपालिका शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसार अनुशासन पालन गर्ने नाममा विद्यार्थीको कपाल काट्न हुँदैन । उहाँले भन्नु भयो–‘यस विषयमा जानकारी भएको छैन । के रहेछ प्रधानाध्यापकसँग बुझ्ने छौँ ? त्यसपछि के गर्ने भन्ने निश्कर्ष निकाल्छौँ ।’
दण्डरहित विधि अनपनाएर विद्यार्थीलाई अनुशासन पालना गर्न लगाउनु र सिकाउनु शिक्षकको कर्तव्य भएको प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईले बताउनु भयो ।
उहाँले भन्नुभयो–‘अनुशासन पालना नगरेको भनेर कपाल काट्दै गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्नु आवश्यक होइन । यस विषयमा प्रधानाध्यापकसँग जानकारी लिने छौँ ।’
घटनाका सम्बन्धमा विद्यार्थीले कुनै पनि निकायमा उजुरी दिएका छैनन् ।
