INSEC Online

📅 २०८३ जेष्ठ २१

एसिड पीडितलाई मुद्दा फिर्ता लिन दबाब !

जनकपुरधाम उपमहानगरपालिका–७ पेठिया बस्ने २८ वर्षीया एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन किराना व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको र पछिल्लो पटक असार २६ गते दबाब दिएको पीडितले आरोप लगाउनु भएको छ ।

किराना पसलमा एसिड राखेर बिक्री गरेका व्यवसायी नागेन्द्र साहले ६ लाख रुपियाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिँदै आएको पीडित आरतीले आरोप लगाउनु भएको हो ।

व्यवसायीको धम्कीपूर्ण अभिव्यक्ति पश्चात्त तरकारी पसलमा काम गर्दै आएकी आरतीले अहिले असुरक्षित महसुस गर्दै पसलमा काम गर्न छोडेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले असुरक्षा वा धम्कीबारे प्रहरीमा जानकारी नआएको बताउनु भयोे ।

उहाँले यस घटनाबारे ‘बुझ्ने’ बताउनु भयो । कसैले धाकधम्की दिएको भए प्रहरीमा जानकारी गराउन एसपी रजौरेले आग्रह गर्नु भयो ।

आरतीका पति सञ्जिव साहले आरती र छोरी रियामाथि ०७७ कात्तिक २७ गते साँझ एसिड प्रहार गरेको आरोपमा अदालतमा मुद्दा चलाइएको थियो ।

जिल्ला अदालत धनुषाले ०७८ भदौ १० गते अन्तिम सुनुवाइ गर्दै एसिड छ्याप्ने सञ्जिवलाई १० वर्ष कैद र ६ लाख ५० हजार रुपियाँ जरिबाना तिर्नुपर्ने फैसला गरेको थियो ।

अदालतले एसिड व्यवसायी नागेन्द्र साहलाई भने सफाई दिएको थियो । सोही फैसलाबाट चित्त नबुझेको भन्दै आरतीका भाइ सञ्जय साहले ०७८ फागन १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो ।

सो मुद्दामा उच्च अदालतले असार ८ गते आरोपित नागेन्द्रलाई झिकाउन आदेश दिएको छ । आरोपित अदालतमा अहिलेसम्म हाजिर नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उच्च अदालतमा हाजिर हुन आदेश दिएपछि नागेन्द्रका ‘मानिसले’ मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेको पीडित आरतीले बताउनु भयो ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मङ्सिर २४ मा पत्नीमाथि एसिड प्रहार गर्ने सञ्जिव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो ।

अहिले पनि सरकारी वकिल कार्यालयले सोही अनुसारको क्षतिपूर्ति र सजाय दाबी गरिरहेको छ ।

अन्य

भिडियो