सोरु गाँउपालिका–७ जिमा प्रसुति केन्द्रमा नियमित चार पटक गर्भवती चेक जाँच तथा प्रसुति केन्द्रमा सुत्केरी हुन आउनु भएका महिलाहरूले डेढ वर्षदेखि सुत्केरी प्रोत्साहन भत्ता नपाएको गुनासो गर्नु भएको छ ।
नियमित चार पटक गर्भवति जाँच सकेर जिमा प्रसुति केन्द्रमा ०७८ मङ्सिरमा छोरी जन्माएकी थिए । प्रसुति केन्द्रबाट छोरीलाई न्यानो कपडा र आफुले अण्डा, हरलिक्स लगायत अन्य पोषिलो खाने कुरा पाए । तर प्रोत्साहन भत्ता वापतको ३ हजार ८ सय रुपियाँ असार २७ गतेसम्म नपाएको सोरु गाँउपालिकाकी ३८ वर्षीया सौरा रावलले गुनासो गर्नु भयो । रावलले भन्नु भयो आफु जस्तै सुत्केरी प्रोत्साहन भत्ता नपाउने आफनो गाँउका १० जना महिला रहेका छन् ।
नियमित चारपटक गर्भ जाँच तथा स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले स्थानीय तहमार्फत स्वास्थ्य संस्थाले प्रोत्साहन भत्ता उपलब्ध गराउने भएपनि सोरु गाँउपालिका–७ जिमा प्रसुति केन्द्रमा सुत्केरी भएकी महिलाले ०७७ फागुनबाट प्रोत्साहन भत्ता पाउन नसकेका हुन ।
जिमा प्रसुति केन्द्रमा ०७७ फागुनदेखि ४ सय ५३ जनाले नियमित चारपटक जाँच गरेका छन् । उक्त केन्द्रमा २ सय ४७ जना महिला सुत्केरी भएको तथ्याङ्क जिमा प्रसुति केन्द्रकी इन्चार्ज सरिता शाहीले जानकारी दिनु भएको छ । इन्जार्च शाहीले दिनु भएको जानकारी अनुसार नियमित चारपटक गर्भवति अवस्थामा चेक जाँच गर्न आउनेका लागि ८ सय र प्रसुति केन्द्रमा सुत्केरी भए वापत यातायात खर्च ३ हजार गरी ३ हजार ८ सय प्रोत्साहन भत्ता पाउने सरकारी नियम रहेको छ ।
समयमै प्रसुति केन्द्रले सम्बन्धित स्वास्थ्य चौकीमा तथ्याङ्कसहित प्रतिवेदन पठाई स्वास्थ्य चौकीले सोरु गाँउपालिकाको स्वास्थ्य शाखालाई बेला बेला रकम माग गर्दा समेत गाँउपालिकाले उक्त रकम स्वास्थ्य चौकीमा नपठाउदा सुत्केरी महिलाले असार २७ गतेसम्म उक्त रकम पाउन नसकेको स्वास्थ्य चौकी जिमा प्रसुति केन्द्रकी इन्चार्ज सरिता शाहीले आरोप लगाउनु भयो ।
सोरु गाँउपालिकामा स्वास्थ्य शाखा प्रमुख कर्ण सावदले दिनु भएको जानकारी अनुसार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत प्रसुति केन्द्रमा नियमित चारपटक जाँच तथा स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई यातायात खर्चबापत ३ हजार र नियमित चेक जाँच भएको भए ८ सय गरी ३ हजार ८ सय रुपियाँ पाउँछन । अन्य प्रसुति केन्द्रमा रकम पठाई सुत्केरी महिलाले पाएको प्रतिवेदन आफुसँग भएपनि जिमाको रकम नपाउनुको कारण के हो ? सम्बन्धित स्वास्थ्य चौकी इन्चार्जबाट जानकारी लिएर यस विषयमा आफुले पहल गर्ने बताउनु भयो ।
