INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२३ र १९ वर्षीया दुई युवतीलाई यौन दुव्र्यवहार गरेको कसुरमा गुर्भाकोट नपा–९ बोटेचौरका ३५ वर्षीय चमन घर्ती मगर र २४ वर्षीय भूपेन्द्र बुढामगरलाई अदालतले सात–सात वर्ष कैद फैसलाको सजाय सुनाएको छ ।

जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावलका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुवै जनालाई ०७९ असार २३ गते सात–सात वर्ष कैद र जनही दुई लाख रुपियाँ जरिवाना तोकिएको छ । उनीहरू दुवै जनाले पीडित राहत कोषमा प्रतिव्यक्ति आठ हजार रुपियाँसमेत जम्मा गर्नुपर्नेछ ।

यसैगरी यौन दुर्व्यवहार भएको होटलका संचालक २९ वर्षीय विनोद भनिने मिलन पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपियाँ जरिवाना अदालतले तोकेको छ । उनले पीडित राहत कोषमा चार हजार रुपियाँ जम्मा गर्नुपर्ने फैसलामा तोकिएको छ ।

घटनाका कसुरदारलाई ०७८ जेठ २३ गते प्रहरीले गिरफ्तार गरेको थियो । बोटेचौरमा रहेको विनोद भनिने मिलन पुनको होटलमा दुई जना युवतीलाई लिएर घर्ती र बुढाले २०७८ जेठ २१ गते राति दुर्व्यवहार गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए ।

यस घटना सम्बन्धमा इन्सेकको अगुवाईमा अधिकारकर्मीको एक टोलीले ०७८ जेठ २८ र २९ गते स्थलगत अनुगमन गरेको थियो । अनुगमन टोलीले युवतीको निर्दोषपनको फाइदा उठाएर मदिरा खुवाई दुव्र्यवहार गरी नियोजित तरिकाले भिडियो बनाएको निष्कर्ष निकालेको थियो ।

 

अन्य

भिडियो