INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितको गुनासो

कुटपिट घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय, डोल्पाले दर्ता गर्न नमानेको पीडितहरूले आरोप लगाउनु भएको छ ।

सदरमुकाम दुनैतर्फ जाने क्रममा असार १९ गते काइके गाउँपालिकाका युवाहरूको कुटपिटबाट घाइते हुनु भएका डोल्पो बुद्ध गाउँपालिका–१ धो का ४५ वर्षीय नोर्वु थिन्ले लामा, ४४ वर्षीया डोल्मा लामा र ४२ वर्षीया गर्भवती महिला लुजुङ्ग गुरुङ्गले सो आरोप लगाउनु भएको हो ।

व्यक्तिगत तथा सरकारी कामको सिलसिलामा सदरमुकाम दुनैतर्फ जाने क्रममा काइके गाउँपालिकाका ४२ वर्षीय अमित बुढा, ४४ वर्षीय बमबहादुर ठकुल्ला, ३५ वर्षीय कैलाश मगर र ४० वर्षीय पाल्जोर रोकायासहितका करिब १०÷१२ जना युवाको समूहले कुटपिट गरी सदरमुकाम आउन नदिई बीच बाटोबाट फर्काइ दिएको पीडित पक्षको आरोप रहेको छ ।

घाइतेहरू डरले सदरमुकाम दुनै आउनुको सट्टा धोतर्फ फिर्ता हुनु भएको धो तरापका क्याल्पो थापा भोटेले जानकारी दिनु भयो । घटनामा संलग्न व्यक्तिका विरुद्व जिल्ला प्रहरी कार्यालयमा ०७९ असार २२ र २३ गते उजुरी दर्ता गर्न जाँदा जिल्ला प्रहरी कार्यालय, डोल्पाका डीएसपी निरन्जन थापाले उजुरी लिन अस्वीकार गर्नु भएको पीडित नोर्वु थिन्ले लामाले गुनासो गर्नु भयो ।

पीडितको उजुरी किन र कुन कारणले लिन नमान्नु भएको भन्ने प्रश्नमा डीएसपी थापाले कुटपिट भएको घटना सार्वजनिक भएको तर उजुरीमा जिल्लामा नभएका सासंद धनबहादुर बुढा, जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढा, पालिका अध्यक्ष अंगत राना लगायतका व्यक्तिहरूको विरुद्धमा ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गर्नु आउनु भएकाले उजुरी लिन अस्वीकार गरिएको बताउनु भयो । उहाँले भन्नु भयो कुटपिटमा संलग्न भएका युवा विरुद्ध कुटपिटको सार्वजनिक मुद्दा दर्ता गराउनु होस भन्दा नमानेर ब्यक्तिगत पूर्वाग्रही रुपमा घटनालाई विषयान्तर गरी उजुरी दिन आएपछि उजुरी दर्ता गरिएको हैन ।

 

अन्य

भिडियो