अदालतबाट हत्या र बलात्कार मुद्दामा सजाय ठहर गरेका दुई जना फरार आरोपितलाई प्रहरीले असार २१ गते गिरफ्तार गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिका– ६ कसाई टोल बस्ने ३३ वर्षीय लच्छन अलि अन्सारी र खजुरा गाउँपालिका–७ का ३४ वर्षीय जोहरू भाटलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टालीले जमुनाहास्थित नेपाल भारत सिमावर्ती क्षेत्रबाट गिरफ्तार गरेको हो ।
अच्छन अलिले पत्नीलाई ०७५असार ३१ गते दाइजो कम ल्याएको विषयमा टाउकोमा लाठी र भाला प्रहार गरि गम्भीर घाइते भएपछि लखनउमा उपचारको क्रममा २०७५ साउन २१ गते मृत्यु भएको थियो ।
यसैगरी, जोहरू भाटसमेत दुई जनाले २०७० भदौ ७ गते गिजरा सामुदायिक बनमा दाउरा खोज्न गएकी महिलाई सामुहिक बलात्कार गरेका थिए ।
कर्तव्य ज्यान मुद्दामा लच्छन अलिलाई जिल्ला अदालतले ०७७ चैत ९ गते २० वर्ष कैद सजायको फैसला गरेको थियो भने जोहरू भाटलाई जबरजस्ती करणी ठहर गर्दै ०७८असार १४ गतेको सात वर्ष कैद र ५० हजार रूपियाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
उनीहरू दुबै जनालाई फैसला कार्यान्वयनकालागि असार २२ गते बाँके कारागारमा पठाइ सकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुदन न्यौपानेले बताउनु भयो ।