INSEC Online

📅 २०८३ जेष्ठ २१

बाटो निर्माणको क्रममा डोजरले पाइप काटेपछि पाँच महिनादेखि खानेपानीको अभाव

कालीमाटी गाउँपालिकाको पैयाकाँडा–कोछट्टे सडक निर्माण गर्ने क्रममा डोजरले खानेपानीको पाइप काटेर क्षति बनाएपछि करिब पाँच महिनादेखि स्थानीयलाई खानेपानीको अभाव भएको छ ।

सडक निर्माण गर्ने क्रममा डोजरले गत फागुनको अन्तिममा खानेपानी योजनाका पाइप काटेर क्षति बनाएपछि स्थानीयवासीहरू घर नजिकैको धाराको पानी खानबाट वञ्चित भएको स्थानीय ३५ वर्षीया शोभा डाँगीले बताउनुभयो ।

काटिएको पाइप जडान गर्ने सम्बन्धमा पालिकाले बेवास्ता गरेका कारण बस्तीका २२ घरपरिवार प्रभावित बनेको उहाँले बताउनुभयो । एक गाग्री पानीका लागि करिब दुई घण्टा हिडेर पुराना कुवा धाउन बाध्य छन्, उहाँले भन्नुभयो, लामो समय हिँडनु पर्दा स्थानीयलाई सास्ती भएको छ ।
पानीकै समस्याका कारण समयमै खाना खान नपाएर बालबालिकाहरू नियमित विद्यालय समेत जान नसकेको उहाँले बताउनुभयो । सरसफाईमा समेत कठिनाइँ हुँदा उनीहरू फोहर कपडा लगाएर विद्यालय जान बाध्य भएको अभिभावकहरूको भनाई छ ।

डोजरले काटेर तहसनहस बनाएको पाइप पुनः जडानका लागि पालिका र खानेपानी कार्यालयमा बारम्बार आग्रह गर्दै आएको र निवेदन दिए पनि सम्बन्धित निकायबाट अहिलेसम्म जडान हुन नसक्दा पानीका लागि स्थानीयले धेरै कष्ट उठाउनु परेको स्थानीय थम्मन बहादुर घर्तीले बताउनुभयो ।

घर नजिकैको धारामा पानी भर्न बानी परेका स्थानीय अझ बढी समस्यामा परेको उहाँले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०४५ सालमा एडीबीको एक करोड रुपियाँभन्दा बढी अनुदानमा बनेको खानेपानी योजना अहिले जीर्ण भएपछि धारामा नियमित पानी नआउने गरेपनि स्थानीयले घरपरिवार सङ्ख्याअनुसार बाँडेर पिउने गरेका थिए ।

अहिले बढ्दो गर्मीका कारण कुवामा समेत पानी सुक्दै गएकाले खोलाको प्रदुषित पानी पिउनुपरेको स्थानीयको भनाई छ । तहसनहस भएका पाइप फेर्नका लागि खानेपानी कार्यालयसँग सहकार्य भइरहेको कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बताउनुभयो ।

जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले स्थानीयले माग गरेपछि सो पुरानो योजनाको जाँच गरेर प्राविधिक टोली फर्किसकेको र पाइप खरिदका लागि तयारी भइरहेको बताउनुभयो ।
Salyanphoto20220707 (1) Salyanphoto20220707 (2) Salyanphoto20220707 (3)

अन्य

भिडियो