१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई असार २१ गते ३ महिना कैद, १० हजार रुपियाँ जरिबानाका साथै २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश प्रमेश पोखरेलको इजलाशले यस्तो फैसला गरेको हो । सोही घटनाका अर्का आरोपित शिक्षक सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादवले सफाई पाउने फैसला भएको छ ।
पीडित बालिकालाई आरोपितले ०७४ चैतदेखि यौन दुर्व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७५ जेठ २६ गते उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय कडरबोनाले जेठ २७ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरी पशुपति यादवलाई गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ जेठ २७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको थियो ।
सप्तरी जिल्ला अदालतले पशुपति यादवलाई ०७५ असार २२ गते ६५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।
अदालतमा ०७६ जेठ २४ गते हाजिर भएका अर्का आरोपित रामकृष्णलाई पनि अदालतले ६५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।