INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनको प्रचार प्रसारमा निस्केका काङ्ग्रेस कार्यकर्ता एकसातादेखि बेपत्ता !

अपि हिमाल गाउँपालिकामा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा निस्केका नेपाली काङ्ग्रेसका एक जना कायकर्ता एकसातादेखि बेपत्ता भएका छन् । अपि हिमाल गाउँपालिका-२ लिथि घर भएका ४० वर्षीय कलम सिंह लोथ्याल वैशाख १३ गतेबाट सम्पर्कविहीन भएका हुन् ।

पीडित कलम अपि हिमाल गाउँपालिका-६ सितोलाको देउलीबाट बेपत्ता भएको परिवारले जनाएको छ । नेपाली काङ्ग्रेसका अपि हिमाल गाउँपालिकाका उम्मेदवार लोकेन्द्रसिंह लोथ्याल, प्रचार प्रसार संयोजक मानसिंह बुढाथोकी नेतृत्वको टोलीसँगै घुसाबाट सितोला पुगेका लोथ्याल कहाँ गए भन्ने अहिलेसम्म खुलेको छैन ।

लोथ्यालकी आमा गरूली लोथ्यालले छोराको खोजी गर्न माग गर्दै वैशाख १९ गते प्रहरी चौकी खण्डेश्वरीमा निवेदन दिएकी छन् । घरबाट वैशाख १३ गते हिँडेका लोथ्याल सम्पर्कमा नआएपछि गाउँलेले खोजी गरेका थिए ।

सितोलाका स्थानीयले समेत प्रचार प्रसारमा आएको देखेपनि पछि लोथ्याल कहाँ गए भन्ने थाहा नभएको बताएका छन् । काङ्ग्रेसको प्रचार टोली सितोला हुँदै दैभात घुसा र अहिले खण्डेश्वरीको क्षत्ति घाजिरमा छ । कार्यकर्ता बेपत्ता भएपनि काङ्ग्रेसको प्रचार टोलीले चुनावी अभियान रोकेको छैन ।

लोथ्याल खोज्न गएका गाउँलेले सितोलादेखि खोज्दै आएपनि केही जानकारी पाउन नसकेको बताएका छन् । खण्डेश्वरी प्रहरी चौकीमा निवेदन दिएपछि वैशाख १९ गतेदेखि प्रहरीले खोजी कार्य सुरू गरेको प्रहरी चौकी खण्डेश्वरीका इञ्चार्ज छत्रबहादुर सिंहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले पनि लोथ्यालको खोजी सुरू भइसकेको बताए ।

अन्य

भिडियो