१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हिलिहाङ गाउँपालिका–७ का ५५ वर्षीय नरबहादुर धमलालाई एक वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश योगेन्द्रप्रसाद शाहको असार २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति र २५ हजार जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ वैशाख २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितविरूद्ध जेठ २८ गते जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ८ गते गरिएको थियो ।