बडिमालिका नगरपालिका–६ कोर्धकी १९ वर्षीया पत्नी मालती विष्टलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले भवानी बक्स गण, अछाममा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय लालबहादुर खड्कालाई असार २० गते गिरफ्तार गरेको छ ।
असार १९ गते राति पतिले निर्घात कुटपिट गरी गम्भिर घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिन्द्र बोगटीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पतिको निर्घात कुटपिटबाट गम्भिर घाइते भई जिल्ला अस्पतालमा उपचार गराइ रहनु भएकी पीडित मालतीले घर विदामा आउनु भएका पतिले सदरमुकाम मार्तडीस्थित नेपाल टेलिकम नजिकै टाउकोमा ढुङ्गाले हिर्काएर घाइते बनाउनुको साथै निर्घात कुटपिट गरेको इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पतिको कुटपिटबाट महिलाको टाउँको र शरिरका विभिन्न भागमा गरी २३ ओटा टाँका लागेको जिल्ला अस्पतालका सूचना अधिकारी नृप गिरीले बताउनु भयो ।
यस अगाडी पनि खड्कले पत्नीलाई पटक पटक कुटपिट गर्ने गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएको र उपरान्त कुटपिट नगर्ने कागज गरी मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बोगटीले बताउनु भयो ।
कुटपिटबाट गम्भिर घाइते भएकी मालतीको असार १९ गते राति १२ बजे उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रकी मनोपरामर्शकर्ता जानकी चन्दले बताउनु भयो ।
