नेकपा एमाले डोल्पाका सांसद धनबहादुर बुढाको निर्देशनमा काईके गाउँपालिकाका नेपाली काङ्ग्रेसका वडा अध्यक्ष र वडा सदस्यलाई ‘कब्जा’मा लिन खाजेको आरोपमा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप भएको छ ।
सांसद धनबहादुर बुढाको आधार इलाका मानिने काइके गाउँपालिका-६ शहरतारामा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष र सदस्यमा उम्मेदवारको टिकट पाएका ४० वर्षीय भिमबहादुर रोकाय र ३५ वर्षीय लँकु बुढालाई ठुलीभेरी नगरपालिका-१ स्थित सांसद धनबहादुर बुढाको घर नजिकै एमाले कार्यकर्ताहरूले आफ्नो ‘कब्जा’मा लिएर कुटपिट गरेपछि दुई पक्षबिच झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘वैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवारीको टिकट पाएका रोकाय र बुढालाई हाम्रो आधार इलाकामा उम्मेदवारी दिने साहास कसरी आयो ? भन्दै नेकपा एमालेका कैलाश बुढा, नरेन्द्र रोकाय र राप्रपाका कार्यकर्ता भनिने शेरबहादुर रोकायले आफ्नो कब्जामा लिएर कुटपिट गरेपछि दुवै पक्षबिच झडप भयो ।’-नेपाली काङ्ग्रेस डोल्पाका सभापति अङ्गतकुमार बुढाले बताए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काका अनुसार काङ्ग्रेस उम्मेदवारमाथि आक्रमण गरी आफ्नो कब्जामा लिन खोज्ने एमालेका कार्यकर्ता नरेन्द्र रोकाय, कैलाश बुढा र राप्रपाका शेरबहादुर रोकायलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ ।