INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएको राससले जनाएको छ ।

महाअभियोग प्रस्तावमा नेपाली काङ्ग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थक रहेका छन् ।

सो प्रस्ताव सत्ता साझेदार दुवै दलका २ सय ४९ जना सांसदको हस्ताक्षरसहित वैशाख १७ गते दिउँसो ४ बजे सचिवालयमा दर्ता गरिएको हो ।

नेपालको संविधानको धारा १०१ को उपधारा (२) मा भएको व्यवस्था बमोजिम दर्ता गरिएको उक्त प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको अभियोग लगाइएको छ ।

प्रधानन्यायाधीश कार्कीले सरकारले गरेको निर्णयमा हस्तक्षेप हुने गरी फैसला गरेको, कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क पाएको प्रहरी नायब महानिरीक्षकलाई दोस्रोमा र दोस्रोमा रहेको प्रहरी नायब महानिरीक्षकलाई पहिलोमा रहेको भनी तथ्यलाई नै तोडमोड गरी फैसला दिएको महाअभियोग प्रस्तावमा उल्लेख गरिएको सांसद विश्वकर्माले जानकारी दिए ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध न्यायालयको स्वतन्त्रता र स्वच्छतामा प्रश्न उठ्ने गरी बारम्बार आफूसमेत संलग्न भई सर्वोच्च अदालतमा अन्य १९ जना न्यायाधीशहरु हुँदाहुँदै अरु कोही नभएजस्तो गरी सीमित न्यायाधीशलाई पटकपटक राखी इजलास गठन गर्नाका साथै न्यायाधीशहरूलाई आफूले भनेको जस्तो आदेश फैसला गर्न निर्देशन दिएको अभियोग लगाइएको छ ।

प्रधानन्यायाधीश कार्कीले अदालतमा भएका न्यायाधीशहरूलाई समान व्यवहार गर्नुपर्नेमा त्यसो नगरी गुटबन्दी गरेको र न्याय सम्पादनमा अनुचित हस्तक्षेप र दबाब दिएको जिकिरसहित संसद्को नियमावली २०७३ को नियम १६८ को ९१० बमोजिम संसद्मा तत्काल कायम रहेका एक चौथाइ सदस्यको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गरेको सांसद विश्वकर्माले बताए । महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै अभियोग लागेका ओहोदाधारी आफ्नो पदबाट स्वतः निलम्बन हुने कानुनी प्रावधान छ ।

अन्य

भिडियो