INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलामाथि हुने हिंसा अन्त्यको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानव अधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैरसरकारी संस्था महासङ्घ नेपाललगायत नागरिक संस्थाहरुले महिलामाथि हुने हिंसा अन्त्यको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

असार ३ गते पोखरास्थित सहिदचोकमा प्लेकार्डसहित प्रदर्शनपश्चात कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्यमार्फत प्रधानमन्त्री देउवालाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले ध्यानकर्षण पत्रलाई प्रधानमन्त्री समक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

ध्यानाकर्षणपत्रमा नेहारिका राजपुतको मागलाई तत्काल सम्बोधन गरिनुपर्ने, बलात्कार मुद्दामा हद म्यादको मापदण्ड हटाइनुपर्ने, हिंसा प्रभावितहरुलाई न्यायको सुनिश्चितता गरिनुपर्ने, पीडकलाई कानुनको दायरामा ल्याउनुपर्ने, गण्डकी प्रदेशमा निर्माण भएको सुरक्षा गृहलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने र ग्रामीण स्तरसम्म कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिएको छ ।

कार्यक्रममा बोल्दै शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवालले महिलामाथि हुने सबैखाले हिंसाका घटनाका दोषीलाई कारबाहीको माग गर्नु भयो।

महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका संयोजक इन्द्रकुमारी शर्माले न्यायिक प्रक्रियामा ढिलाइ हुँदा पीडितले न्यायको अनुभव गर्न नसकेको भन्दै न्यायिक प्रक्रियालाई छिटो र प्रभावकारी बनाइनुपर्ने बताउनु भयो ।

इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले नागरिक अधिकारलाई सुनिश्चित गर्ने प्रमुख दायित्व सरकारको भएकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।

photo20220618kaski

अन्य

भिडियो