INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्ष बित्यो तर पनि मेलम्ची बाढी प्रभावितले न राहत पाए न सुरक्षित बास

एकवर्ष अघि आएको बाढीले हेलम्बु गाउँपालिका, पाँचपोखरीथाम्पाल गाउँपालिका र मेलम्ची नगरपालिकाका २६ जनाको ज्यान लिएको थियो भने ५ सय ५१ घरलगायत खेती योग्य जमीन लगायतका धेरै भौतिक सम्पत्ति क्षति भयो ।

नदी किनारका खेतीयोग्य जमीन बगरमा परिणत भयो । सयौ स्थानीयवासी बिस्थापित भए ।

उनीहरू हालसम्म अस्थायी टहरामै बस्दै आएका छन्, वर्ष दिन बित्दा पनि उनिहरूले सुरक्षित बास मात्र हैन राहत समेत पाउन सकेनन् ।

यसै विपत्तिको कारण सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्ला समेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा निकै उठे तर पनि बाढी प्रभावितहरूका लागि कुनै कामको थालनि नै भएको छैन ।

20210616_125115

तत्कालिन सरकारले बाढीबाट घरबारबिहिनलाई पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारको उक्त निर्णय हालसम्म कार्यान्वय नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ ।

गत वर्षको बाढीले घरखेत बगाएर बेसाहारा बनेकी हेलम्बु गाउँपालिका–२ की गोरी तामाङको आँखा अझै ओभाएका छैनन् ।

बाढीले उहाँको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगर बनेपछि उहाँको परिवार अहिले सुकुम्बासी बनेको छ । सरकारले घर बनाइदिने बताए पनि उनीहरू हालसम्म अस्थायी टहरोमै छन् ।

२०७८ असार १ मा मेलम्ची र इन्द्रवती नदिमा आएको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरीथाम्पाल गाउँपालिको गरी ५ सय ५१ घर बाढीले बगाएको थियो ।

साथै ५ हजार ४ सय रोपनी खेतियोग्य जमीन बगर बन्यो भने २६ जनाको मृत्यु भएको ।

मेलम्ची खानेपानी आयोजनासँगै सातओटा झोलङ्गे पुल, नौ ओटा पक्की पुल र ३३ ओटा सार्वजनीक संरचना ध्वस्त भए ।

एक वर्षसम्म पनि अस्थायी टहरामुनी नै गुजारा चलाइरहेका बाढी प्रभावितहरू स्थायी घर बनाउन सरकारकै भर परेर बसेका छन् ।

आफ्नो भएको घर र व्यवसाय बाढीले बगाएपछि सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले आफूलाई सधै सताउने गरेको मेलम्ची बजारका हरिशरण श्रेष्ठले बताउनु भयो ।

पक्की घर नबनाई रोजगारी तथा अन्य सिलसिलामा घरबाट बाहिरसमेत निस्कन नपाएको हेलम्बु गाउँपालिकाका लिलाबहादुर ज्योतिको भनाई छ ।

बाढीपछि अर्काको घरमा भाडा तिरेर बसेकाहरूको पनि आफ्नो पक्की घर बनाउने सपना सरकारकै कारण अधुरै रहेको इचोकका सुनिता तामाङले बताउनु भयो ।

मेलम्ची बाढीजस्ता प्राकृतिक विपद्को पुर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाए पनि हाल सोको पूर्व तयारी हुन नसकेको मेलम्चीका स्थानीयवासीको भनाई छ ।

20210616_122349

अन्य

भिडियो