INSEC Online

📅 २०८३ जेष्ठ २१

सोधपुछ कक्षमा थुनुवाको मृत्यु, छानबिनका लागि समिति गठन

केरावारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा अचानक बेहोस भइ जेठ २६ गते मृत्यु भएपछि छानबिनका लागि समिति गठन गरिएको छ ।

०७८ पुस १९ गते घरायसी विवाद क्रममा ४७ वर्षीया पत्नी सकुन्तला ठकुरीलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई पुस २० गते गिरफ्तार गरी अनुसन्धान गर्ने क्रममा माघ २ गते आरोपितको स्वास्थ्य परीक्षणका क्रममा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले माघ ४ गते जमानी हाजिरीमा आरोपितलाई परिवारको जिम्मा लगाएको थियो ।

०७९ जेठ २५ गते आरोपितलाई प्रहरीले घरबाटै गिरफ्तार गरी जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराएर वयान गराउने क्रममा आरोपित जेठ २६ गते बेहोस भएर ढलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

कोशी अस्पतालमा उपचारका क्रममा जेठ २६ गते मृत्यु भएको थियो ।

आरोपितसँगको वयान सकिएपछि जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुअघि नै आरोपितको मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

जेठ २७ गते मृत्यु शङ्कास्पद भएको भन्दै पीडित परिवार र स्थानीयले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो ।

वार्ताका क्रममा जेठ २७ गते छानविन समिति गठन गर्ने सहमति भएपछि छानबिन समिति गठन गरिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको छ  ।

समितिमा केरावारी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर लिम्बू र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन पोखरेल सदस्य रहनु भएको छ ।

थुनुवाको जिल्ला सरकारी वकिलको कार्यालयस्थित सोधपुछ कक्षमा मृत्यु भएपछि आफन्तले मृत्यु शङ्कास्पद भएको भन्दै जेठ २७ गते धर्ना दिने तयारी गरेका थिए ।

जेठ २७ गते मृतकका आफन्त र प्रशासनबिच छानविन समिति गठन गर्ने, मृतकका परिवारलाई क्षतिपूर्तिको पहल गर्ने र मृतकका परिवारको पालनपोषणका लागि गाउँपालिकासँग पहल गर्ने सहमति भएपछि मृतकका आफन्तहरूले धर्नालगायतका कार्यक्रम स्थगित गरेको पत्रकार किशन शाहीले बताउनु भयो ।

शवको पोष्टमार्टम जेठ २६ गते कोशी अस्पतालमा गरिएको छ ।

पीडित पक्षले जेठ २७ गते शव बुझी केरावारी गाउँपालिका–२ स्थित घाटमा अन्तिम संस्कार गरेको पत्रकार शाहीले बताउनु भएको छ ।

अन्य

भिडियो