INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक निर्माणका क्रममा खानेपानीका पाइप भत्किएपछि अस्पतालमा खानेपानीको समस्या

खलंगा–जुम्ला सडक निर्माणका क्रममा डोजरले सडक खन्दा खानेपानीका पाइप भत्किएपछि जिल्ला अस्पताल खंलगामा एक हप्तादेखि खानेपानीको समस्या भएको छ ।

सदरमुकाम खलंगाको तल्लो थाप्लेमा खानेपानीको अभाव हुँदा त्यस क्षेत्रमा रहेका स्थानीयवासीसँगै, अस्पताल, शिक्षण संस्था र सरकारी कार्यालयमा खानेपानीको समस्या भएको हो ।

खानेपानीकको समस्या देखिएपछि अस्पतालका विरामी, त्यस क्षेत्रका विद्यार्थी कर्मचारी र सेवाग्राही मर्कामा परेका छन् ।

धारामा विगत एक हप्तादेखि पानी नआउँदा त्यस क्षेत्रका करिब ७० घरधुरी प्रभावित हुनुका साथै जिल्ला अस्पताल, जिल्ला वन कार्यालय र भेरी नगरपालिका लगायतका संस्थामा आउने, कर्मचारी, सेवाग्राही र बिरामी प्रभावित भएका छन् ।

खानेपानीको अभाव हुँदा त्रिभुवन माध्यमिक विद्यालय, भेरी ज्ञानोदय क्याम्पसमा पठनपाठनका लागि आउने शिक्षक र विद्यार्थी समेत मर्कामा परेका छन् ।

तल्लो थाप्ले क्षेत्रमा एक हप्तादेखि पानीको समस्या भएपछि करिब आधा घण्टा लाग्ने स्थानबाट पानी ल्याएर खानेपानीको समस्या समाधान गरिरहेको जिल्ला अस्पतालका व्यवस्थापक नवराज कँडेलले बताउनु भयो । थाप्ले क्षेत्रमा पानी नआएपछि प्रत्येक दिन जसो कहिले माथिल्लो थाप्लेबाट त कहिले गाडीमा कालेगाउँबाट खानेपानी ल्याउने गरेको व्यवस्थापक कँडेलले जानकारी दिनु भयो ।

त्यसैगरी अहिले गर्मी समयमा हरेक दिन जसो नुहाउन लुगाधुन पर्ने हुन्छ तर खानेपानी अभावका कारण टाढाबाट बोकेर ल्याएको पानीको सदुपयोग गर्दै एकहप्तादेखि नुहाउन नपाइएको गुनासो स्थानीय कृष्णबहादुर शाहले गर्न भयो । शाहले भन्नु भयो त्रिभुवन माध्यमिक विद्यालयमा खानेपानीको वैकल्पिक व्यवस्था थियो तर नयाँ भवन निर्माणका क्रममा खानेपानीको धारा भत्काएपछि झन् समस्या भएको हो ।

बृहत खानेपानीको लाइनमा सडक निर्माणका क्रममा डोजरले खन्दा खानेपानीको पाइपलाइन बिगारिदिएकाले विगत एक हप्तादेखि तल्लो थाप्ले क्षेत्रको खानेपानीको समस्या उत्पन्न भएको र सडकको काम सकिए लगत्तै पाइपलाइन सुधार गरिने बृहत खानेपानी उपभोक्ता समितिका सचिव किरण कुमार भण्डारीले बताउनु भयो ।

अन्य

भिडियो