INSEC Online

📅 २०८३ जेष्ठ २१

किसानलाई रासायनिक मल अभावले मकै उत्पादन नहुने चिन्ता

सरकारले बजेट भाषणमा कृषिमा आत्मनिर्भर हुने भनेर, आयात प्रतिस्थापन गर्ने भने पनि रासायनिक मल उपलब्ध नहुँदा जिल्लाका किसानलाई मकै उत्पादन नहुने चिन्ताले सताएको छ ।

रासायनिक मलको प्रयोग बिना मकै उत्पादन नहुने भएकोले यस पटक मकै खेती बिगे्रको कालिका गाउँपालिका–३ का किसान दुर्गा ढकालले बताउनु भयो ।

ढकाल जिल्लामा मल अभाव भएकोले यस वर्ष अनिकाल लाग्ने अवस्था आएको बताउनु हुन्छ ।

अर्का कृषक खेमराज न्यौपाने भन्नु हुन्छ– धान खेतीको समय पनि नजिकै छ मकै त बिग्रियो अब धान खेतीको लागि पनि रासायनिक मल अभाव हुने अवस्था आयो ।

उहाँ किसानले मलको सम्स्या उठाएको दुई महिना भयो अझै मल आपूर्ति नभएको गुनासो गर्नु हुन्छ ।

कृषि सामग्री कम्पनीले ८ सय ७७ रूपैयाँमा बेच्ने युरिया मल भारतीय सीमाबाट लकीछिपी ल्याएको एक बोरा मलको २ हजार ५ सय रुपियाँ पर्दछ ।

त्यो पनि पर्याप्त पाउन नसकेको कारण बालीमा हाल्न नपाएको किसानहरूले बताएका छन् ।

यो वर्ष रासायनिक मल नआएको कारण किसानहरू मारमा परेका हुन् । जिल्लामा रासायनिक मलको मागको एक चौथाई मल पनि पाप्त नभएको कारण किसानहरूले आफ्नो खेतीबालीमा मल हाल्न पाएका छैनन् ।

अहिले खेतबारीको मकैमा प्रयोग गर्न युरिया मलको माग उच्च रहेको छ । तर, जिल्लामा सहकारीमार्फत किसानलाई मल वितरण गरिरहेको नुवाकोटका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीको गोदाममा मल छैन ।

साल्ट ट्रेडिङले माघ महिना लागेपछि युरिया मल ल्याउन नसकिएको जनाएको छ ।

मल अभावले कृषि उत्पादन धेरै घट्ने र जिवीकामा समस्या हुने भएको किसान चिन्तामा परेका छन् ।

अन्य

भिडियो