चार दिनदेखि हराइरहेकी गुर्भाकोट नपा–५ की सात वर्षीया गृष्मा विक जेठ २४ गते मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जेठ २० गतेदेखि हराएकी बालिकाको शव घर नजिकैको मकैबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिनु भएको छ ।
शवलाई जेठ २५ गते कर्णाली प्रदेश अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले जानकारी दिएको छ । मकैबारीको खाल्टोमा शरीर भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको रिपोट आएपछि घटनाको विस्तृत विवरण खुल्ने डीएसपी कार्कीले जनकारी दिनु भयो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय घनश्याम विकलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको डीएसपी कार्कीले बताउनु भएको छ ।
गुर्भाकोट नपा–५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् । उनका बुबा मजदुरीका लागि भारत गएका छन् । २० गते हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन् ।
वडाअध्यक्ष पुनका अनुसार मृतक बालिकाको टाउकोमा चोट लागेको छ । शव भेटिएको स्थान बालिकाको घरदेखि एक सय मिटर टाढा रहेको छ । बालिकाको शव तरुल खनेको खाल्टोमा भेटिएको वडाअध्यक्ष पुनले जानकारी दिनु भयो ।