रोल्पामा क्रियाशील राजनीतिक दलहरूले निर्वाचनसँग सम्बन्धीत गतिविधिहरूमा बालबालिका प्रयोग नगर्ने वैशाख १४ गते आयोजित एक कार्यक्रमबिच प्रतिबद्धता जनाएका छन् ।
जिल्ला बाल कल्याण समिति लिबाङमा गरिएको स्थानीय तहको निर्वाचनमा बाल अधिकार संरक्षण र प्रवर्धनका लागि राजनीतिक दलहरूसँग अन्तरसंवाद कार्यक्रमका सहभागी जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रमका बोल्ने सहभागीहरूले निर्वाचनका कुनैपनि गतिविधिमा बालबालिका प्रयोग गर्न नहुने बताएका थिए ।
साथै मतदान स्थल विद्यालयमा राख्न नहुनेमा समेत सहभागीहरूले जोड दिएका थिए । कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सन्तोष सुवेदीले विद्यालय शान्ति क्षेत्र भएकोले निर्वाचन कार्यमा शिक्षक/शिक्षिकालाई समेत नखटाई मतदान स्थल विद्यालय भन्दा बाहिर राखेर निर्वाध रूपमा पढाई हुनुपर्ने बताए ।
जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेले भने यो अवस्थामा मतदान स्थल विद्यालय बाहेक अन्त राख्न सम्भव नभएको बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले पनि विद्यालयमा मतदान स्थल नराख्ने कुरा अत्यन्तै राम्रो भएपनि अहिलेको अवस्थामा त्यो सम्भव नभएको बताए ।