INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितको न्यायको अधिकार सुनिश्चित गर्न इन्सेकको माग

विस्तृत शान्ति सम्झौता, निरन्तरका सार्वजनिक भएका प्रतिबद्धता तथा सङ्क्रमणकालीन न्यायको सवालमा सर्वोच्च अदालतको फैसलाहरूलाई ध्यान दिई पीडितको न्यायको अधिकार सुनिश्चित गर्न इन्सेकले माग गरेको छ ।

चितवनको बाँदरमुढेमा यात्रुबहाक बसमा तत्कालीन नेकपा माओवादीले विद्युतीय धराप विष्फोट गराएको घटनाको स्मरण गर्दै इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा यस्तो माग गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ-‘सशस्त्र द्वन्द्वको अन्त्य गर्न २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धताहरूमध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू आजसम्म पनि सम्बोधन भएनन् । शान्तिपूर्ण समाज स्थापनाको लक्ष्य पुरा भएको छैन ।’

द्वन्द्वपीडितहरूको न्याय निरूपण, परिपूरण, न्याय तथा संस्थागत सुधारमार्फत द्वन्द्वको शान्तिपुर्ण समाधान गर्नुपर्ने दायित्व जस्ताको त्यस्तै रहेकामा इन्सेकले सरोकार व्यक्त गरेको छ ।

नेकपा माओवादीका कार्यकर्ताले यात्रु बसमा विद्युतीय धराप विष्फोट गराएर ४२ जनाको मृत्यु र ६८ जना घाइते भएको दुर्दान्त बाँदरमुढे घटनाको १७ वर्ष भएको छ । साविक कल्याणपुर गाविस–१ र ४ को सीमानामा पर्ने बाँदरमुढे खोलामा ना १ ख ३२४५ नं. को बसमा २०६२ जेठ २३ गते विद्युतीय धराप विष्फोट गराउँदा सर्वसाधारण र निशस्त्र सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रतिवेदन पढ्नका लागि यहाँ क्लिक गर्नुहोला 

अन्य

भिडियो