खैरहनी नगरपालिका–१० कठारस्थित मुसहर वस्तीकी पतिको यातनाबाट मृत्यु भएकी ३५ वर्षीया गीता माझीको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पीडित परिवारलाई १५ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले मृतककी छोरी पुष्पा माझीलाई सो रकम जेठ १७ गते हस्तान्तरण गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएका हिंसा पीडित परिवारलाई लागि इन्सेकले सहयोग गर्दै आएको छ ।

बुबाले जेठ १२ गते यौन हिंसा गरी कुटपिट गर्दा गुप्ताङ्गमा पुगेको असरले गम्भीर घाइते भएकी आमाको उपचारका क्रममा मृत्यु भएको भनी गीताकी छोरी पुष्पा माझीले जेठ १७ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा यौन हिंसा तथा कर्तव्य ज्यान अन्तर्गत उजुरी दिनुभएको छ ।
घटनामा संलग्न पीडितका पति ४० वर्षीय रामचन्द्र माझीलाई प्रहरीले जेठ १२ गते राती नै गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धन भइरहेको डिएसपी नरहरि अधिकारीले बताउनु भयो ।
आरोपितको यातनाबाट गुप्ताङ्गमा गहिरो चोट लागेकोले पीडित महिलाको उपचार र अप्रेशन जेठ १६ गते भरतपुर अस्पतालमा गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनु भयो ।