INSEC Online

📅 २०८३ जेष्ठ २१

साँझ बिहानको छाक टार्न विपन्न परिवार गिट्टी बालुवाको भर

शारदा नगरपालिका–१ शान्तिनगरका विपन्न परिवार साँझ बिहानको छाक टार्न शारदा नदिको गिट्टी बालुवाको भर पर्ने गरेका छन् ।

सोही ठाँउकी २८ वर्षीया दीर्घ बादी बिहान सबेरैदेखि राति अबेरसम्म साँझ बिहानको छाक टार्न नजिकैको शारदा नदिको किनारमा गिट्टीबालुवा सङ्कलनमा व्यस्त हुन्छिन् ।

स्थानीय तहको निर्वाचन भर्खर सम्पन्न भएको छ । निर्वाचनको क्रममा उहाँको घरमा दिनहुँ विभिन्न पार्टीका उम्मेदवार भोट माग्न आए पनि उहाँलाई भने त्यसको कुनै प्रभाव परेन । ‘हामी गरिबलाई के को चुनाव उहाँले भन्नुभयो, ‘गिट्टीबालुवा सङ्कलन नगरे साँझ बिहानको छाक टार्नै गाह्रो हुन्छ ।

सोही ठाउँकी निर्मला परियारलाई पनि विभिन्न दलले चुनाव प्रचारका लागि गाउँबस्तीमा जान आग्रह गरिरहेका थिए । तर शारदा नदी किनारमा गिट्टीबालुवा सङ्कलन नगरे उहाँको घरमा पनि चुलो बल्दैन ।

‘प्रचारमा गए एक/दुई दिन त नेताहरूले खुवाउलान् उहाँले भन्नुभयो ‘त्यसपछि फेरि बालुवा सङ्कलन नगरी हुँदैन, त्यसैले चुनावमा मेरो ध्यानै गएन । ०७४ को स्थानीय तह निर्वाचनमा बादी समुदायका १ घर, १ रोजगारीको नारा ल्याएर आएका नेताहरूले त्यसपछि फर्केर नहेरेको उहाँको गुनासो छ । कम्तीमा सीपमूलक तालिम दिएको भए पनि आफूहरू आत्मनिर्भर बन्ने उहाँले बताउनुभयो ।

आफूहरूलाई भने गाँसकै चिन्ता भएको बादी बस्तीकी निर्मला बादीले बताउनुभयो । ‘विगतमा नेताहरूले बारम्बार विपन्नको स्तर उकास्ने भन्ने नारा लगाए, उहाँले भन्नुभयो ‘तर जितेपछि सबै योजना र बजेट टाढाबाठामा मात्र सीमित गरे । नेताहरूकै बेवास्ताले आफूहरूको आर्थिक अवस्था झनै कमजोर बन्दै गएको उहाँको भनाइ छ ।

सबै चुनावमा उम्मेदवारले गर्ने बाचा प्रतिबद्धता र बोलीमा मात्रै सीमित भएको स्थानीय मजदुर कमानसिंह विकले गुनासो गर्नु भएको छ । स्थानीय तहको पहिलो कार्यकालको बजेट टाठाबाठाले नै रजाइ गरेको उहाँको आरोप छ । ‘दुई पुस्तादेखि पूर्जा विहीन घरमा बस्नुपरेको उहाँको भनाइ छ ।

‘पूर्जा दिन्छौं भन्दै पहिलेको चुनावमा भोट मागेका नेताहरू अहिले कता गए थाहै छैन, फेरि अरू नेताहरूले जनता भुलाउन घरदैलो गरिरहेका छन् । उहाँले मजदुरी गरेको ८ सय रुपियाँ दैनिक ज्यालाले पाँच जनाको परिवार पाल्नुपरेको गुनासो गर्नुभयो । बढ्दो महङ्गी र भन्नेबित्तिकै काम नपाउने समस्याले कतिपय रात भोकै काट्नु परेको उहाँहरूको भनाइ छ ।
SalyanPhoto_2022_05-25

अन्य

भिडियो