सिमकोट गाउँपालिका वडा नम्वर ७ को डाँडाफयामा रहेको चुक्याडी खानेपानीमा काम गरेको एक वर्ष वितिसक्दा समेत ज्याला नपाएपछि स्थानीय श्रमिकले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
आर्थिक वर्ष ०७८/0७९ को लापा संस्थाबाट संचालन भएको योजनाको काम सम्पन्न भएको एक वर्ष वितिसक्दा पनि ज्याला नपाएको भन्दै स्थानीय श्रमिकले जेठ ९ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा उजुरी दिएका हुन् ।
सिमकोट गाउँपालिका अन्तरगतको लापा संस्थाले संचालन गरेको चुक्याडी खानेपानीको २५ लाख रुपियाँ उपभोक्ता समितिका अध्यक्ष बाँचबहादुर सुनारले हिनामिना गरेको भन्दै जेठ ९ गते १२ जना स्थानीय श्रमिकहरूको संयुक्त हस्ताक्षरमा जिल्ला प्रशासन कार्यालय, हुम्लामा उजुरी दिइएको छ ।
गत वर्ष वैशाखदेखि असारसम्म खानेपानीको काम गरियो तर उपभोक्तामा आवद्ध अध्यक्ष, सचिव र कोषाध्यक्षले काम गरेको ज्याला नदिएपछि जिल्ला प्रशासनमा उजुरी गर्न बाध्य भएको स्थानीय श्रमिक राजपुरा सुनारले गुनासो गर्नु भएको छ ।
स्थानीय सुनारले भन्नु भयो “खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाँच बहादुर सुनारले प्रत्येक व्यक्तिलाई कम्तिमा ३० हजार रुपियाँ वितरण गर्नुपर्नेमा सात/आठ सय रुपियाँ मात्रै वितरण गरेर अरु पछि दिने आश्वासनमा पारेको भन्दै प्रशासनमा उजुरी गर्नु परेको हो ।”
आफूले पाउनु पर्ने सबै रकमको मागगर्दै प्रशासनमा करिव १२ जनाको समूह पुगेको छ । सो चुक्याडी गाउँमा १२ वटा धारा निर्माण गर्नु पर्नेमा जम्मा पाँच वटा धारा निर्माण गरिएका छन तर ति कुनै धारामा पानी झरेन । यदि पानी झरेको भए पनि त्यसैमा सन्तुष्टि हुन्थ्यौँ नत पानी झर्यो नत ज्याला मजदुरी गरेको रकम पाइयो स्थानीय श्रमिकले गुनासो गरेका छन् ।
यस विषयमा दुवै पक्षका व्यक्तिलाई बुझेर छलफल गर्ने सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले आश्वासन दिनु भएको छ ।