INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षलाई असहयोग गरेको भन्दै हत्या गरेको आरोपमा उजुरी

जीतपुरसिमरा उपमहानगरपालिका–२० का वडा अध्यक्ष ६५ वर्षीय रसुलमीयाँ अन्सारीलाई स्थानीय तह निर्वाचनमा असहयोग गरेको आरोपमा सोही वडाको बसडिल्वा गोठ टोलका २१ वर्षीय दिपक पासवानको जेठ ३ गते हत्या गरेको आरोपमा मृतककी आमा सुनैनादेवी पासवानले जेठ ७ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

इलाका प्रहरी कार्यालयको प्रहरीले घर नजिकै कठोह हरपुर खोलामा गाडेको अवस्थामा जेठ ६ गते शव उत्खनन् गरी कलैया अस्पतालमा पोष्टमार्टमका लागि लगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताउनु भयो ।

कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट गौरव महतोले जेठ ८ गते पोष्टमार्टम प्रतिवेदन दिने बताउनु भयो ।

पीडित परिवारले पोष्र्टमार्टम प्रतिवेदन दिएपछि मात्र अन्तिम संस्कारका लागि शव जिम्मा लिने र पोष्र्टमार्टम प्रतिवेदन नआएमा शव जिम्मा नलिने जनाएको छ ।

मृतक पासवानले स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका वडा सदस्यका उम्मेदवार वीरेन्द्र पासवानलाई सहयोग गरेको रिसमा हत्या गरेको आरोप छ ।

रसुलमियाँ अन्सारी सोही वडाको नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।

पासवानले नेकपा एसका उम्मेदवारलाई भोट माग्दा वैशाख २० गतेदेखि पटकपटक विवाद भएको मृतककी आमा सुनैनादेवीले बताउनु भयो ।

उहाँले विवाद हुँदा सोही वडाका २० वर्षीय तालाम अन्सारीले रसुलमियाँले जिते भने ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ ।

जेठ ३ गते ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको पीडित परिवारको आरोप छ । आक्रमण गर्दा छिमेकीले रोकेकाले हत्या गर्न नसकेको र हत्या गरी दिने धम्की दिएर गएको मृतककी आमाले बताउनु भयो ।

जेठ ३ गते ज्यान मार्ने योजना बनाएर घरदेखि ५ सय मिटर पश्चिम रहेको कठोह हरपुर खोला लगी धारिलो हतियारले घाँटी रेटी खोलाको पूर्व किनारामा गाडी दिएको मृतककी आमाको आरोप छ ।

आरोपितलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गरी नेपालको प्रचलित कानुन बमोजित क्षतिपुर्ति दिलाइ पाउँ भनी पीडित पक्षले दिएको उजुरीमा माग गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–२० बसडिल्वा टोलका ६५ वर्षीय वडा अध्यक्ष रसुलमियाँ अन्सारी, ४४ वर्षीय शेख आरफ, २२ वर्षीय तालाम अन्सारी, २० वर्षीय शेखनवी आलम र २१ वर्षीेय शेख सलिमले हत्या गरेको पीडित परिवारको आरोप छ ।

घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न प्रदेश सभा र प्रतिनिधि सभामा आवाज उठाउन पहल गर्ने प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले इन्सेक जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई जानकारी गराउनु भएको छ ।

मृतककी आमाले इन्सेक जिल्ला प्रतिनिधिसँग घटनाको सत्यतथ्य पत्ता लगाउन सहयोग माग्नु भएको छ । घटना अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताउनु भयो ।

अन्य

भिडियो