INSEC Online

📅 २०८३ जेष्ठ २१

खसेको मत भन्दा बढी मत भेटिएको निहुँमा झडप, गाउँपालिकाको भवनमा तोडफोड

लक्ष्मीपुर पत्तारी गाउँपालिकामा मतगनणा गर्ने क्रममा खसेको मत भन्दा बढी मत भेटिएको निहुँमा उमेदवार तथा उमेदवारका समर्थक र प्रहरीबिच जेठ ३ गते झडप भएको छ ।

गाउँपलिका–४ मा कुल सदर मत भन्दा मतपेटिकामा ८ सय २३ बढी मत भेटिएपछि कांग्रेसबाहेकका उम्मेदवार र समर्थकहरू विरोधमा उत्रिएका थिए ।

गाउँपालिकाका निर्वाचन अधिकृत देवीप्रसाद सुवेदीका अनुसार ३ हजार २ सय १५ कुल मतदाता रहेको यस वडामा २ हजार ३ सय ९२ मत खसेको थियो । तर, मतगणना गर्दै जाँदा ३ हजार १ सय ६३ सदर मत र ५२ बदर मत भेटिएको सुवेदीले बताउनु भयो ।

बढी मत नभएर इन्ट्री गर्दा त्रुटी भएको हुन सक्छ, हामी छानवीन गर्दैछौँ र प्रमुख जिल्ला अधिकारी सहित सर्वदलीय बैठक बसिरहेको उहाँले जानकारी दिनु भयो । सर्वदलीय बैठकको निर्णय बमोजिम अगाडि बढ्ने सुवेदीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले मत बढेको विषयमा विवाद उत्पन्न हुँदा दलका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्न थालेको र ढुङ्गामुढाबाट गाउँपालिकाको भवनका सिसा र स १ झ ५०६ नम्बरको जिपमा क्षति पुगेको छ ।

स्थिति नियन्त्रण गर्न सात सेल अश्रुग्याँस प्रहार गरेको उहाँले बताउनु भयो । लाठीचार्ज र ढुङ्गामुढाबाट केही प्रहरी र प्रदर्शनकारीलाई सामान्य चोटपटक लागेको डिएसपी बुढाथोकीले बताउनु भयो ।

अन्य

भिडियो